विप्लव नेतृत्व नेकपाको आन्तरिक सुरक्षामा चुनौती

अशोज ९, २०७८ मा प्रकाशित | 475 views

काठमाडौँ । मुलुकको आन्तरिक सुरक्षामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अझै चुनौतीका रुपमा रहेको नेपाली सेनाले विश्लेषण गरेको छ ।

जंगीअड्डामा भएको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’मा विप्लव नेतृत्वको नेकपा अझै सुरक्षा चुनौतीका रुपमा रहेको जर्नेलहरुले निष्कर्ष निकालेका हुन् ।

नेपाली सेना ‘तीन जोड एक कमाण्ड’ संरचनामा गएपछि पहिलो पटक भएको बैठकमा मूलतः सेनाको आन्तरिक सुदृढीकरणका विषयमा छलफल भए । ‘नयाँ प्रधानसेनापतिज्यूले संगठनको क्षमता अभिवृद्धि, तालिम लगायत विषयमा राय, सुझाव लिनुभयो’ सैनिक स्रोतले भन्यो, ‘त्यसबाहेक वर्तमान सुरक्षास्थितिबारे पनि छलफल भयो ।’

छलफलका क्रममा अन्तरिक सुरक्षामा विप्लव समूहबाट अझै खतरा हुनसक्ने बताइएको हो । समूहले २० फागुन २०७७ मा हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने गरी सरकारसँग समझदारी गरेको थियो ।

तर २१ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्दको उपस्थितिमा सार्वजनिक गरिएको तीन बुँदे सहमति समूहसँग भएका हतियारबारे मौन थियो । यही विषयलाई सेनाले ‘शंकास्पद’ मानेको छ ।

‘हतियार नबुझाएका समूहबाट सुरक्षा चुनौती रहेको मूल्यांकन गरिएको छ’ जंगीअड्डा स्रोतले अनलाइनखबरसँग भन्यो, ‘विप्लव समूहलाई अझै शान्तिपूर्ण राजनीतिमा आइसकेको मानिहाल्न हतारो हुन्छ ।’

सरकारसँग भएको समझदारी अनुसार समूहका नेता कार्यकर्ता नछुटेपछि विप्लव नेतृत्वको नेकपाका नेताहरु पनि असन्तुष्ट छन् । यस्तो परिस्थितिमा समझदारी कार्यान्वयन नभए हिंसाको बाटोमा जान सक्ने चेतावनी हालै पार्टीका महासचिव विप्लवले पनि दिएका छन् ।

पोखरामा आयोजित पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीको २२ औं सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले सरकारले सहमति कार्यान्वयन नगरेर ‘घेरा लगाउन खोजेको भए, तोड्न तयार’ रहेको भनेका थिए ।

सरकारसँग भएको तीन बुँदे समझदारीको तेस्रो बुँदामा सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज गर्ने भनिएको थियो । कार्यकर्ताको रिहाइ र खारेजीको माग पूरा गर्न सरकारले आलटाल गरेको भन्दै विप्लवका नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

पार्टीका शीर्ष नेताहरुले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनिसकेपछि पनि विभिन्न नेताहरुको भेटघाटलाई जारी राखेका छन् । तर बन्दीको रिहाइमा ‘सकारात्मक नतिजा’ आइसकेको छैन । यहीबीच नेपाली सेनाले समूहले हतियार नबुझाएको विषयमा शंका व्यक्त गरेका हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web