बुधबार सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै

अशोज ४, २०७८ मा प्रकाशित | 384 views

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधबार सात जिल्लामा अधिवेशन हुँदै छ। यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकै दिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो। बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा नहुने देखिएको हो।

कांग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ। कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो। प्रदेश २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण प्राप्त भएसँगै समय तोकेर अधिवेशन हुँदै जाने समिति सदस्य एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए। करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन्।

कांग्रेसले महाधिवेशनअन्तर्गत गाउँ–नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ। त्यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web