विप्लव समूहको केन्द्रीय बैठक बन्दीपुरमा

भदौ ३१, २०७८ मा प्रकाशित | 481 views

पोखरा । सरकारसँग ३ बुँदे सहमति गर्दै सार्वजनिक भएको नेत्रविक्रम चन्द ‘विल्पव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ६ महिना अन्योलमा रहृयो । ३ बुँदे कार्यान्वयन गर्ने जिम्मा लिएका प्रधानमन्त्री केपी शर्मा ओली आफैं संविघनमा लागे र सरकारबाट बाहिरिए ।

सरकार परिर्वतन भएपछि विप्लव समूहले सबै राजनीतिक दलका नेताहरुसँग भेट गरे, सहमति कार्यान्वयमा जोड दियो । तर त्यसअनुसार प्रगति नभएपछि ३ बुँदे सम्झौता गर्दै खुला राजनीतिमा फर्किँदाको समीक्षा, अहिलेको राजनीतिक अवस्थाबारे विमर्श र भावी रणनीति बनाउने भएको छ ।

यसका लागि नेकपाको ११ औं केन्द्रीय कमिटी बैठक तनहुँको बन्दीपुरमा शुक्रबारदेखि सुरु हुँदैछ । खुला राजनीतिमा फर्केपछि बन्दिपुरमा पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

‘बन्दीपुरमा सुरु हुने बैठक झण्डै एक हप्ता चल्छ, बैठकमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव पेश हुन्छ,’ पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले भने, ‘विशेष गरी यो बैठकमा सरकारसँग भएको सम्झौता र त्यसको कार्यान्वयनबारे छलफल हुन्छ । अहिलेको राजनीतिक परिस्थिति र अबको रणनीति तयार गर्छौं । देशको मूलभूत विषयमा पार्टीको आधिकारिक धारणा तय गर्छौं ।’

सरकारले पक्राउ गरेका नेता कार्यकर्ता छोडिदिने, प्रतिबन्ध खारेज गर्ने, विप्लवले हतियारको कुरै नगर्ने, शान्तिपूर्ण राजनीतिमा आउने लगायत ३ बुँदे सहमति गरेको थियो । केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ लगाएको प्रतिबन्ध फुकुवा गर्दै ३ बुँदे सहमतिपछि २१ फागुनमा नेकपालाई शान्तिपूर्ण राजनीतिमा फर्काएको थियो ।

सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएकाले अब कसरी अगाडि बढ्ने भनेर राजनीतिक कार्यक्रम तयार गरिने केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज पूर्णजीत पुन ‘उभार’ले बताए । ‘समग्रमा अब पार्टी कस्तो बनाउने र जनताकाबीच केके लिएर जाने भन्नेबारे बैठकले रणनीति बनाउने छ,’ उभारले भने, ‘त्यसका लागि ६५ जना केन्द्रीय सदस्य छलफलमा हुनु हुनेछ ।’

विप्लव समूहले संसदीय व्यवस्था कि बैज्ञानिक समाजवाद भनेर जनमत संग्रहको माग गर्दै आएको छ । ‘संविधान, नेपालको राजनीतिक सिस्टम के हुने, संघीयताको अभ्यास र सत्ताको चरित्र के हुने, व्यवस्था कस्तो हुने भन्नेबारे जनमत संग्रहमा जाने र त्यो किन आवश्यक छ भन्नेबारे पनि बैठकबाट तय हुन्छ,’ उनले भने, ‘अरु कम्युनिस्ट पार्टी नाममात्रको हुँदा नेकपाले असली कम्युनिस्टको परिचय दिन जनतामाझ कसरी जाने भन्ने छलफलबाट निश्कर्ष निकाल्छौं ।’

खराव संसदीय व्यवस्था नमान्ने भन्दै माओवादीबाट अलग भएर विप्लवले जनताको अधिकार स्थापित गर्न फेरि एक पटक विद्रोह गर्ने बताएका थिए । माओवादीबाट अलग हुँदै फेरि भएको भूमिगत आन्दोलन, सरकारसँगको सम्झौतापछि प्राप्त उपलब्धिबारे छलफल गर्दै रणनीति तयार हुने नेकपाले जनाएको छ । पार्टीको सांगठनिक संरचनाबारे पनि बैठक छलफल हुने छ ।

बैठकमा सहभागी हुने विप्लव बन्दीपुर पुगिसकेका छन् । बन्दीपुरमा मिहिन छलफल गरेर राजनीतिक धारणा र अबको रणनीति सार्वजनिक गर्ने प्रवक्ता प्रकाण्डले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web