काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवराेध गरेपछि राष्ट्रिय सभाको बैठक पनि ३० मिनेटका लागि स्थगित गरिएको छ ।
बैठक सुरु हुनासाथ राष्ट्रिय सभामा एमालेका सांसदहरूले उठेर बैठकमा अवराेध गरेका थिए । त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिनुभएको थियो ।
त्यसक्रममा बोल्दै सचेतक भट्टराईले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल फुटाउने, आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदको सूचनासमेत टाँस नगरेर राजनीतिक दलका सामान्य कार्यकर्ताको रूपमा प्रस्तुत भएको उल्लेख गर्दै त्यसको विरोधमा राष्ट्रिय सभा चल्न दिन नसकिने चेतावनी दिनुभयो । उहाँले लोकतन्त्रको रक्षाका लागि, संविधान र कानुन विरोधी सभामुख सापकोटाको भूमिका रहेको उल्लेख गर्दै त्यसलाई मानेर जाने अवस्थामा आफूहरू नरहेको धारणासमेत राख्नुभयो ।
सचेतक भट्टराईले बोलिसक्ने बित्तिकै एमाले सांसदहरूले उठेर संसद् बैठक चल्न दिएनन् । यता राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने राष्ट्रिय सभाको गरिमालाई कायमै राखेर अघि बढ्नुपर्ने भन्दै एमाले सांसदहरूलाई बैठक सुरु गराउन सहयोग गरिदिन पटक–पटक आग्रह गर्नुभयो । तर एमाले सांसदहरूले नमानेपछि उहाँले बैठक ३० मिनेटसम्मका लागि स्थगित गरिएको घोषणा गर्नुभयो ।
प्रतिनिधि सभामा पनि एमाले सांसदले यही विषयलाई लिएर नाराबाजी गरेपछि प्रतिनिधि सभा बैठक ३० मिनेटसम्मका लागि स्थगित गरिएकाे छ ।
19.12¡ÆC