तुइन घटनाको पाँच सातापछि भारतलाई पत्र

भदौ २२, २०७८ 2021-09-07 मा प्रकाशित
Published at 2021-09-07

449 views

काठमाडौँ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा आपत्ति जनाउँदै सरकारले भारतलाई पत्र पठाएको छ । दुवै घटनामा भारतको संलग्नता रहेको भन्दै नेपालस्थित भारतीय दूतावासमार्फत कूटनीतिक पत्र पठाइएको हो ।

यसअघि यस प्रकृतिका पत्र दिल्लीस्थित नेपाली दूतावासमार्फत वासिधै भारतीय विदेश मन्त्रालयमा पठाउने गरिए पनि योपल्ट भने भारतीय दूतावासमा बुझाइएको हो । स्रोतका अनुसार तुइन घटनामा एसएसबी जिम्मेवार रहेकोमा आपत्ति जनाउँदै संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पत्रमार्फत भनिएको छ । त्यस्तै, भारतीय हेलिकोप्टर बिनाअनुमति नेपाली आकाशमा उडाइएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि आगामी दिनमा दोहोरिन नदिन ध्यानाकर्षण गराइएको छ ।

गृह मन्त्रालयले तुइन घटनाबारे भारतलाई कूटनीतिक पत्र पठाउन आग्रह गर्दै परराष्ट्रलाई भदौ १७ मा पत्राचार गरेको थियो । त्यसकै भोलिपल्ट भारतीय हेलिकोप्टर नेपाली आकाशमा उडेकोबारे कूटनीतिक नोट पठाउन आग्रह गर्दै पत्र लेखेको थियो । तर परराष्ट्रले आलटाल गरेकोमा चौतर्फी विरोध भएपछि बल्ल सोमबार पत्र पठाइएको हो ।

तुइन घटना र नेपाली आकाशमा भारतीय हेलिकोप्टर अनधिकृत रूपमा उडाइएपछि भारतीय ज्यादतीविरुद्ध सर्वत्र विरोध भइरहेको छ । सीमा क्षेत्रमा भएका पछिल्लो दुई प्रकरणबारे भारतसँग सामान्य सोधपुछसमेत गर्न नसकेको भन्दै सरकारको आलोचना बढेको छ । भारतीय ज्यादतीको विरोध नेपालमा अझै चर्कने देखेपछि बल्ल सरकारले दुवै घटनालाई समेटेर भारतलाई औपचारिक पत्र लेख्दै संलग्नमाथि कारबाहीको माग गरेको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पछिल्ला दुवै घटनाबारे कूटनीतिक पत्राचार भएको पुष्टि गरिन् । तर, उनले नेपालस्थित दूतावासमार्फत भारतलाई बुझाइएको पत्रमा उल्लेख गरिएका विषयबारे भने केही बताउन चाहिनन् ।

‘कम्पिटेन्ट अथोरिटीबाट आएपछि गरिने/गर्ने यो नियमित र कूटनीतिक प्रक्रिया हो,’ प्रवक्ता लम्सालले  भनिन्, ‘यो प्रक्रियाअनुसार हामीले काम गरिसकेका छौं ।’ परराष्ट्रले गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको सुझावअनुसार नै घटनामा संलग्न भारतीय एसएसबीका सुरक्षाकर्मीमाथि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति भराउन पत्रमार्फत भारतलाई भनेको हो ।

तुइन घटनाबारे अनुसन्धान गर्न दार्चुला प्रशासनले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई पत्र पठाएको थियो । तर, भारतीय प्रशासनले घटनाको अनुसन्धान नै नगरी अपराध ढाकछोप हुने गरी आफ्नो पक्षको संलग्नता नरहेको दाबी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.