लागुऔषध ल्याउँदै गर्दा दुई भारतीय पक्राउ

भदौ १८, २०७८ मा प्रकाशित | 536 views

सर्लाही । सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल–भारत सीमानाकाबाट सशस्त्र प्रहरीले अवैध लागुऔषधसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो मलंगवा नगरपालिकास्थित गोरखकालीबाट सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले अवैध लागुऔषध विनरेक्ससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारतको सीतामणि जिल्लाको थाना रुनीसहिदपुर ग्रामचौक– २, बस्ने ३२ वर्षीय नेता शर्मा र सोही स्थानका ६३ वर्षीय सुरेन्द्र शर्मा रहेका प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट सय एमएलको ९४ बोटल लागुऔषध विनरेक्स बरामद गरेको जनाएको हो ।

सशस्त्र प्रहरी गण कविलासीका एसपी गंगाराम श्रेष्ठका अनुसार ग्यास सिलिन्डरमा प्वाल पारेर लुकाइछिपाई लागुऔषध ल्याउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् ।

शंका लागेर उनीहरूले टाउकोमा बोकेको पाँच–पाँच लिटर क्षमताको ग्यास सिलिन्डर चेक जाँच गर्ने क्रममा सिलिन्डरबाट लागुऔषध बरामद भएको प्रहरीको भनाइ छ । उनीहरूले ग्यास सिलिन्डरको पिँधमा प्वाल पारेर सिलिन्डरभित्र राखेर लागुऔषध ओसारपसार गर्ने गरेको प्रहरीको आशंका छ ।

पक्राउ परेका दुवै भारतीय नागरिक र बरामद लागुऔषध थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई बुझाइएकोे एसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web