पौडेल समूहले टुंग्याउन सकेन सभापतिको उम्मेदवार

भदौ १५, २०७८ मा प्रकाशित | 364 views

काठमाडौँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह १४ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंग्याउन असमर्थ भएको छ ।

सभापतिको उम्मेदवार चयन गर्न बसेको पौडेल समूहको बैठकले सहमति जुटाउन नसके पनि आफ्नो समूह सन्देश एक ठाउँमा रहेको सन्देश दिन बुधबार पत्रकार सम्मेलन आयोजना गरेको छ ।

पौडेल समूहले वडा अधिवेशनअघि नै सभापतिमा आफ्नो पक्षका उम्मेदवार तय गर्ने जनाएको थियो । तर निरन्तरको छलफलमा पनि तत्काल सहमति जुट्ने सम्भावना नदेखिएपछि तल्लो तहका कार्यकर्तालाई आफूहरु एकै ठाउँमा रहेको सन्देश दिन सामूहिक आह्वान गर्न लागेका हुन् ।

मंगलबार वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा बसेको बैठकमा सभापतिसहित पदाधिकारीको टुंगो लगाउनेबारे छलफल भएको थियो ।

‘हामीहरुबीच वडा अधिवेशन अघि नै नेतृत्वसहित पदाधिकारी टुंगो लगाउनुपर्छ भन्नेमा छलफल भयो, तर अहिले नाममा नै सहमति जुटेको छैन,’ छलफलमा सहभागी केन्द्रीय सदस्य बलबहादुर केसीले भने, ‘भोलि (बुधबार) पनि हामी छलफल गरेर नाम टुंगो लगाउने प्रयास गर्छाैं, त्यो सम्भव भएन भने सार्वजनिक रुपमा महाधिवेशनमा एक भएर जान्छौं भनेर प्रतिवद्धता जनाउछौं ।’ उनका अनुसार बुधबार दिउँसो दुई बजे पत्रकार सम्मेलन गर्ने तयारी भएपनि स्थान भने तय भइसकेको छैन ।

पौडेल समूहबाट १४ औं महाधिवेशनमा सभापति पदमा चार जना आकांक्षी छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

नेताहरुबीच महाधिवेशनमा एउटा मात्रै उम्मेदवार बनाउनेमा समझदारी भने भएको छ । मंसिर दोस्रो साताका लागि निर्धारित १४ औं महाधिवेशनको वडा अधिवेशन भदौ १८ मा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web