काठमाडौ । सिसडोल ओखरपौवाका स्थानीयवासीले विरोध जनाएपछि अहिले काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँबाट निस्किने फोहर थुप्रिएको छ । दुई वर्षका लागि मात्रै काठमाण्डाैकाे फोहर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहर फालिँदै आएपछि त्यहाँका स्थानीयवासीले विरोध गरेका हुन् ।
स्थानीयवासीको विरोधपछि काठमाण्डाैकाे फोहर केही समययता उठ्न सकेको छैन । सरकारले मानवबस्तीको बीचमा फालिएको फोहरको उचित व्यवस्थापनमा लापर्बाही गरेको स्थानीयवासीकाे गुनासो छ ।
स्थानीयवासी परशुराम अर्यालका अनुसार ओखरपौवामा १४ वर्षसम्म फालिएको फोहर व्यवस्थापन गर्न नसक्दा ठूला समस्या देखा पर्न थालेका छन् । फोहरको पानी चुहिएर खोलामा जाने र त्यही पानी गाईवस्तुलाई खुवाउनु र बालीनालीमा लगाउनुपर्ने बाध्यताले विभिन्न रोग देखिएकाे स्थानीयवासी अर्यालले बताउनुभयो । उहाँले फोहरका कारण मानवबस्ती प्रभावित भइरहेकाले सरकारले त्यहाँको उचित व्यवस्थापन गरिदिनुपर्ने उहाँको भनाइ छ ।
अर्यालले सरकारले जग्गा अधिकरण गरेर बस्ती हटाउने वा त्यहाँको फोहर व्यवस्थापन गर्ने र अब बञ्चरे डाँडामा फोहर लग्ने व्यवस्था नमिलाए निकट भविष्यमा ठूलो दुर्घटना निम्तिने उहाँले बताउनुभयो ।
स्थानीयवासी अर्यालले भन्नुभयो, ककनी गाउँपालिका २ विशेष प्रभावित क्षेत्र हो । यो हावा त्यत्तिकै प्रदूषित छ, सबै कुरा प्रदूषित छ, त्यस कारण नेपाल सरकार वा सम्बन्धित निकायले जति सक्दो छिटो यसको व्यवस्थापन अर्को ठाउँमा गर्नुपर्याे । बञ्चरो डाँडोमा व्यवस्थापन गरिने भनिएको छ, त्यहाँ लगेर गर्नुपर्याे । मानवबस्ती भएकाे ठाउँमा यसले धेरै असर पार्छ । त्यसैले यो मानवबस्ती भन्दा अलि टाढा लगेर व्यवस्थापन गर्नुपर्ने तर हाम्रो यहाँ बस्तीको बीचमै छ । ककनीको वडा नम्बर १,२ र ३ त्यस्तै धादिङको धुनिबेसी नगरपालिकाको १,२ सँगै काठमाण्डाैकाे तारकेश्वर नगरपालिकाको वडा नं. ३ विशेष प्रभावित क्षेत्र हो ।
काठमाण्डाै महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलमा फोहर फाल्न अब नसकिने भन्दै सबै निकायले छिटो भन्दा छिटो आफ्नो काम गरेर बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले कोभिड–१९ का कारण केही समस्या आइरहेको बताउँदै सबै राज्य संयन्त्र मिलेर काम अघि बढाउनुको विकल्प नरहेको बताउनुभयो । प्रमुख श्रेष्ठले सिसडोलका स्थानीयवासीको मागलाई सम्बोधन गर्ने गरी काम अघि बढाइने पनि स्पष्ट पार्नुभयो ।
सिसडोड ल्यान्डफिल साइटका इन्चार्ज सरकारदीप श्रेष्ठले बाटोभन्दा माथि फोहर व्यवस्थापन गर्नुपरेकाले समस्या आइरहेको बताउनुभयो । उहाँले हरेक दिन डेढ सय गाडी फोहर व्यवस्थापन गर्नुपर्नेमा अहिले कहिले एक सय, कहिले डेढ सय, कहिले ५० गाडी मात्र फोहर व्यवस्थापन गर्न सकिएको जानकारी गराउनुभयो । इन्चार्ज श्रेष्ठले काठमाण्डाैवासीले केही समय घरमै कुहिने/ नकुहिने फोहर छुट्याएर राख्ने र कुहिने फोहरलाई मात्र बाहिर निकालेर नकुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न र सडकमा जथाभाबी फोहर नफालिदिन पनि आग्रह गर्नुभयो ।
इञ्चार्ज श्रेष्ठले वर्षाकाे समयमा फोहर आइरहे पनि कम मात्रै व्यवस्थापन गर्न सकिएको बताउनुभयो । उहाँले ल्यान्डफिल साइट जहाँ र जहिल्यै पनि बाटोभन्दा मुनि हुनुपर्ने तर नेपालमा फोहोरभन्दा माथि नै बाटो बनाएर ८०–१०० मिटरको हाइटसम्म लगेर फोहोर व्यवस्थापन गर्न परिरहेको बताउनुभयो ।
19.71¡ÆC