काठमाडौँ । कांग्रेसका संस्थापन इत्तर समूहका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गर्दै चार दिनदेखि रिले अनसन गरिरहेका छन् । संस्थापन पक्षले मनोमानी ढंगले सदस्यता थपघट गरेको भन्दै नामावली सार्वजनिक गरेर त्यसमा थपघट गर्ने मौका दिनुपर्ने उनीहरुको माग छ ।
त्यही सिलसिलामा शुक्रबार साँझसम्म सभापति शेरबहादुर देउवाले ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरे । समितिले पनि तत्कालै वेबसाइटमा सार्वजनिक गर्यो । तर, जिल्ला सभापतिको मागबमोजिम त्यहाँ थपघट गर्न पाउनुपर्ने सुविधा भने दिइएको छैन । शुक्रबार साँझ नै देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफलबाट जिल्ला सभापतिहरुका मागको सम्बोधन गरेर अनसन तोडाउने र तोकिएकै मितिमा एकैसाथ वडा अधिवेशन गर्ने सहमति जुटाए ।
शनिबार जिल्ला सभापतिहरुको अनसन तोडाउने विषयमा छलफल चलिरहेको छ । तर, त्यही बेला जिल्ला सभापतिकै सदस्यता नवीकरण नभएको थाहा पाएपछि जिल्ला सभापतिहरुले पुन: अनसन र धर्नालाई चर्काएका छन् । शुक्रबार सार्वजनिक भएको क्रियाशील सदस्यताको सूचीमा रुकुम पूर्वका जिल्ला सभापति केशरमान रोकाकै नाम छैन । जिल्ला सभापतिहरुले भने नियतवश वा प्राविधिक कारणवश जसरी नाम छुटेको भएपनि त्यसलाई सच्याउने गरी क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्ने विषयलाई थप जोड दिएर उठाएका छन् । जिल्ला सभापतिहरुको धर्ना र अनसनको नेतृत्व गरिरहेका नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले आफूहरुका जायज माग सम्बोधनमा पनि संस्थापनले बेवास्ता गरेर महाधिवेशनलाई पर धकेल्न खोजिरहेको आरोप लगाए । ‘हामीले जायज माग गरेका छौं । यो पहिल्यै सार्वजनिक गरेर सच्याउने, थपघट गर्ने मौका दिएको भए समस्या नै हुने थिएन, अहिले मतदाता नामावलीमा जिल्ला सभापतिकै नाम छैन,’ केसीले भने, ‘जिल्ला सभापतिकै सदस्यता काटिएको छ भने देशभरिका नेता कार्यकर्ताको के हालत होला ?’
आफूहरुका माग सम्बोधन गरेर अनसन तोडाउने भनिएपनि अपराह्नसम्म केन्द्रीय कार्यालयमा कोही नेताहरु नआएको केसीले बताए । ‘अहिलेसम्म कोही आएको छैन । त्यसैले हाम्रा मागहरुमा थप जोड दिएर आन्दोलनलाई अघि बढाउँछौँ,’ उनले भने, ‘बिहान दिउँसोसम्म अनसन तोड्नुपर्छ भन्ने कुरा भएको थियो । त्यो जिम्मेवारी कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिइएको थियो । तर, मैले सुनेअनुसार संस्थापन पक्षका नेताहरुले मान्नुभएन रे, त्यसैले उहाँहरु आउनुभएन, हामीले पनि अनसनलाई निरन्तरता दियौँ ।’
20.12¡ÆC