काठमाडौँ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएका मागहरु सम्बोधन गरेरै महाधिवेशन गर्ने सहमति दिएका छन् । जिल्ला सभापतिहरुका तीन बुँदे माग सम्बोधन नगरी महाधिवेशनको प्रक्रिया अघि बढाउँदा अन्योल सिर्जना भएको भन्दै वरिष्ठ नेता पौडेलसहित संस्थापनइत्तर समूहका नेताहरु देउवाको ध्यानाकर्षण गराउन शुक्रबार साँझ बालुवाटार पुगेका थिए । सो क्रममा नेताहरुबीच सबै समस्याहरुको सम्बोधन गर्दै तोकिएकै मितिबाट अधिवेशनको प्रक्रिया अघि बढाउने सहमति जुटेको हो ।
देउवाले भदौ १८ गतेबाटै महाधिवेशन सुरु हुने र समस्याहरुको सम्बोधन गर्दै तयारीलाई तीव्रता दिन आग्रह गरेका छन् । महामन्त्री पूर्णबहादुर खड्काले तोकिएकै मितिमा अधिवेशन गर्ने गरी तयारी अघि बढेको बताए । ‘महाधिवेशनको तयारीका क्रममा देखिएका समस्या समाधान गर्ने सम्बन्धमा छलफल भएको हो । सबै समस्या र चुनौतीहरुका बाबजुद पनि १८ भदौबाट अधिवेशन सुरु हुन्छ, त्यहीअनुसार तयारी अघि बढाएका छौँ,’ शुक्रबारको छलफलबारे महामन्त्री खड्काले भने ।
22.12¡ÆC