प्रादेशिक अस्पतालका डाक्टरलाई दले कालोमोसो

भदौ ११, २०७८ मा प्रकाशित | 382 views

दाङ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दाङका संयोजक सर्जन परियारसहितका युवाहरुले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंह माथि कालोमोसो दलेका छन् ।

संयोजक परियारकी श्रीमतीलाई टाइफाइडको उपचारका लागि बिहीबार प्रादेशिक अस्पतालमा लगिएको र अस्पतालर्मा कल्चर चेक’जाँचको सेवा नभएपछि मेसु सिंहसँग विवाद सिर्जना भएको थियो । ‘उहाँ श्रीमतीलाई उपचारका लागि भनेर बिहीबार अस्पताल आउनु भएको थियो, हामीसंग कल्चर सेवा थिएन’, डा. सिंहले भने‘ हिजो सामान्य छलफल भएको थियो, तर आज आएर कुनै छलफल, संवादविनै मलाई मोसो दलेर जानुभयो ।’

शुक्रबार दिउँसो पौने २ बजेतिर सर्जनसहित आएका ४/५ जना युवाहरुले कार्यकक्षमै आएर मोसो दलेर भागेको डा. सिंहले बताए । ‘उहाँको भनाई अनुसार चाहि उहाँको श्रीमती भन्नु भएको थियो’, उनले भने‘ तर उहाँले बुढो मान्छे समाएर ल्याउनु भएको थियो, यो हेर्दा नियोजित, कसैबाट परिचालित हो जस्तो देखिन्छ ।’

बिरामीको कार्डमा डाक्टरले ब्लड कल्चर गर्नुपर्छ भनी लेखेको तर, त्यो सेवा अस्पतालमा नभएको भनि आफूले जवाफ दिँदा यस्तो अवस्था आएको डा. सिंहको भनाई थियो ।

अहिले अस्पतालमा कल्चर सेवा छैन । त्यसकालागि छुट्टै कोठा आवश्यक पर्ने र माइक्रोवायोलोजिष्टको आवश्यक पर्ने अस्पतालको ल्याबमा कार्यरत कर्मचारी जीवन खड्काले बताए । त्यो सामान्य किसिमको ल्याबमा नहुने उनले बताए । प्राय:५० शैयाको अस्पतालमा त्यो सेवा उपलब्ध नहुने उनको भनाई छ ।
परियारसहित, गणेश खड्का, दिवस क्षेत्रीसहितका टोलीले कालोमोसो दलेका थिए ।

साथै डा.सिंहले दोषीमाथि कानुन अनुसार कारवाहीको माग गरेका छन् । यस्ता क्रियाकलापले डाक्टरहरु असुरक्षित हुने तथा काम गर्ने वातावरण पनि नहुने भएकाले यस विषयमा सबै गम्भीर हुनुपर्ने उनको भनाई छ । दोषिमाथि कडा भन्दा कडा कारवाही गर्ने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले बताएका छन् । उनले अस्पतालमा यस्ता खालका अराजक प्रवृतिले चिकित्सक तथा कर्मचारीहरुमा नकारात्मक प्रभाब पार्ने भन्दै गम्भीर भएर अनुसन्धानमा लाग्ने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web