काठमाडौँ । नेपाली कांग्रेसमा क्रियाशील विवाद टुंग्याएको भनिएको दुई दिन नवित्दै रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गरे ।
पहिलो दिन बुधबार नुवाकोट जिल्ला सभापति जगदीश्वरनर सिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमलासँगै नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ नेता डिल्लीराज सुवेदी अनसन बसे । उनीहरुको माग छ, क्रियाशील सदस्यता सार्वजनिक गर ।
‘क्रियाशील सदस्यता छानविन समितिले दिएको प्रतिवेदनमा केन्द्रबाटै सदस्यता थपघट गर्ने काम भइरहेको छ,’ जिल्ला सभापति केसीले भने, मतदाता सूचीमा आफ्नो नाम भए-नभएको हरेक क्रियाशील सदस्यले थाहा पाउनुपर्छ ।’
अनसन सुरु गरेकै दिन ऐक्यवद्धता जनाउन पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडु, दीपक गिरी सानेपा पुगेका हुन् ।
जबकी पौडेल पक्षका नेता मिलेन्द्र रिजालसहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सोमबार राति विवाद टुंगो लगाएर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई प्रतिवेदन बुझाएका थिए ।
झण्डै ९ लाख क्रियाशील सदस्यताको छानविन गरेको लेखक नेतृत्वको छानविन समितिले अधिकांश विवाद सल्टाएको थियो । तर समायोजनसँग जोडिएका केही क्षेत्रको विवाद सुल्झाउने जिम्मा पार्टी पदाधिकरीहरुलाई दियो । पदाधिकारीहरुले नेतात्रय सिटौला, लेखक र रिजाललाई जिम्मा दिए । उनीहरुले प्रतिवेदन बुझाएसँगै क्रियाशील विवाद टुंगिएको मानिएको थियो ।
तर पौडेल पक्षका जिल्ला सभापतिहरु रिले अनसनमा बस्नु र शीर्ष नेताहरु नै ऐक्यवद्धतामा जानुले क्रियाशील विवाद बल्झिने त होइन भन्ने आशंका बढेको छ ।
सानेपा पुग्नुअघि पौडेल समूहका नेताहरुबीच चाक्सीबारीस्थित पूर्वमहामन्त्री सिंहको निवासमा छलफल भएको थियो । उनीहरुले निर्वाचन समितिमा रहेका आफू पक्षधर सदस्यहरुसँग परामर्श गरेका थिए । छलफलमा निर्वाचन समिति सदस्यहरुले क्रियाशील सदस्यता सूची छिटो दिनुपर्ने बताएका छन् ।
‘उहाँहरुले एक–दुई दिनमै क्रियाशील सस्यताको टुंगो नलागे हामीले निर्वाचन गराउन सक्दैनौं भन्नुभयो,’ केन्द्रीय सदस्य बलबहादुर केसी भन्छन्, ‘समितिले अधिवेशन गराउन कम्तिमा ११ दिनको समय चाहिन्छ भनेको छ, तर क्रियाशील सदस्यता सूची दिइएको छैन । समय विस्तारै घर्किदै गएको छ ।’
कांग्रेसमा कतिपय निर्वाचन क्षेत्रको क्रियाशील सदस्यत टुंग्याउन भदौ १२ सम्मको समय दिइएको छ । त्यसपछि बाँकी ६ दिनमा अधिवेशन हुनेमा पौडेल समूहका नेताहरु आशंका गर्छन् ‘सभापतिजीले चुनाव शुरु हुन्छ, हुन्छ भन्नुभएको छ, तर पार्टी मातहतका संयन्त्रबाट त्यो गाँठो फुकेको छैन,’ जिल्ला सभापतिको रिले अनसनमा ऐक्यवद्धता जनाउँदै वरिष्ठ नेता पौडेलले भनेका छन्, ‘क्रियाशील सदस्यता टुंगो नलागी चुनाव कसरी हुन्छ ?’
क्रियाशील सदस्यतामा भएको सहमतिप्रति आफू प्रतिवद्ध भएको बताएका उनले तत्काल सदस्यता सूची सार्वजनिक गर्नुपर्ने जिल्ला सभापतिको माग पनि जायज भएको बताए । ‘क्रियाशील सदस्यता विवरण सार्वजनिक हुनुपर्छ, सबै तहका पदाधिकारी, वडादेखि क्षेत्र, केन्द्रसम्मकाले हेर्न पाउनुपर्छ । केही कमजोरी त्रुटि भए सच्याउनुपर्छ,’ वरिष्ठ नेता पौडेलले भनेका छन् ।
19.12¡ÆC