दोषी ठहर भई फरार रहेका तीन जना पक्राउ

भदौ ९, २०७८ मा प्रकाशित | 407 views

जनकपुरधाम । सिरहा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएपछि फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका–११ नैनपुरका २९ वर्षीय सञ्जीत महतो, सखुवानान्कारकट्टी गाउँपालिका–१ का २९ वर्षीय शोभाकान्त चौधरी र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का ५० वर्षीय हासिम नटलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई कीर्ते नागरिकता, लागूऔषध र चोरी मुद्दामा जिल्ला अदालतबाट कैद र जरिवाना तोकिएको थियो । उनीहरुमध्ये नट अदालतबाट दोषी ठहर भएको ३४ वर्षपछि पक्राउ परेका हुन् ।

महतोलाई कीर्ते नागरिकता मुद्दामा २०७१ साल मंसिर २९ गते सिरहा जिल्ला अदालतले ५ हजार नगद जरिवाना सजाय तोकेको थियो भने चौधरीलाई २०७१ साल जेठ ३ गते अदालते लागूऔषध मुद्दामा एक लाख जरिवाना र २ वर्ष कैदको सजाय तोकेको थियो ।

यस्तै, हासिम नट चोरी मुद्दामा अदालतबाट १ महिना कैद र १६ हजार जरिवाना तोकिएपछि फरार रहेका थिए । उनलाई जिल्ला अदालतले २०४४ साल मंसिर २७ गते कैद र जरिवाना तोकेको थियो ।

तीनैजनालाई उनीहरुको घरबाटै पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web