कुखुरापालक किसानलाई प्रहरीको अवरोध

भदौ ७, २०७८ मा प्रकाशित | 308 views

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका क्षेत्रका किसानले आफैंले खोरमा पालेका ब्रोइलर कुखुरा बेच्नका लागि बजार ल्याउने क्रममा प्रहरीले अवरोध गरेको छ। सोमबार बिहानै इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको नेपाल प्रहरीले माथिको आदेश भन्दै कुखुरा किसानलाई रोकिदिएको हो।

मोटरसाइकलमा महेन्द्रनगर कुखुरा बेच्नका लागि ल्याउने क्रममा चार घण्टा कुखुरा रोकिदिएपछि किसान आन्दोलित भएका छन्। दोधाराचाँदनी नगरपालिका क्षेत्रको उत्तर, पश्चिम र दक्षिणमा भारत पर्छ भने पूर्वतिर नेपालको भीमदत्त नगरपालिका पर्छ। नेपाली उत्पादनले भारतमा बजार नपाउने भएपछि किसानले कुखुरा बेच्न महेन्द्रनगर लैजाने क्रममा इलाका प्रहरी कार्यालय दोधाराले अवरोध गरेको हो। कोरोना महामारीका कारण व्यवसाय चौपट भएर मारमा परेका किसानलाई प्रहरीले सहयोगको साटो उल्टै अवरोध गरेको भन्दै किसान आन्दोलित भएका हुन्।

प्रहरीले तस्करसँग जस्तै आफूहरुसँग समेत अवैध रकम अशुल्न खोजेको किसानहरुको आरोप छ। तस्करी रोक्ने नै भए भारतीय सीमा क्षेत्रमा गएर रोक्न किसानले प्रहरीलाई सुझाव दिएका छन्। दोधाराका कुखुरा पालक किसान भरत भट्टले आफ्नै फर्ममा पालेका कुखुरा बेच्नका लागि बजार लैजाने क्रममा प्रहरीले अवरोध गरेको बताए। उनले बिहान ४ बजे रोकेका कुखुरा प्रहरीले ८ बजेमात्रै छाडेको बताए ।

‘प्रहरीले हामीप्रति तस्करको जस्तो व्यवहार गरेर घण्टौँ रोकिदियो,’ भट्टले भने, ‘हो भारतबाट आउने अवैध कुखुरा रोक्नुपर्छ। तर, नेपाली किसानले उत्पादन गरेका कुखुरा रोकेर दुख दिने प्रहरीको नियात गलत छ।’ विगतमा तस्कर समूहले भारतबाट नेपाल ल्याउने कुखुराका कारण कुखुरा पालक नेपाली किसान मारमा परेको भन्दै किसानहरुले पसिना बगाएर इमान्दार किसानमाथि प्रहरीले गर्ने व्यवहार ठीक नभएको बताए।

दोधाराचाँदनीका कुखुरा व्यवसायी गोबिन्द भट्टले अनेकन बहानाबाजी गरेर प्रहरीले सधैँ जता पनि दुख दिँदै आएको बताए। ‘एकातिर दानाको मूल्यवृद्धि भएको छ,’ उनले भने, ‘अर्कातिर प्रहरीको कारण हाम्रो व्यवसाय चौपट हुनेस्थिति आइसक्यो। सबै कानुनी प्रकृया पूरा गर्दा समेत प्रहरीको अवरोध किन? महामारीका बेला सरकारले कुखुराको आहाराका लागि दाना ढुवानी गर्न सहज गर्ने भने पनि यहाँ प्रहरीले अवरोध गर्दै आएको छ।’ प्रहरीले क्वारेन्टाइन कागजातको समेत बेवास्ता गरेर घण्टौँ कुखुरा रोकेर व्यवसायीलाई क्षति पु¥याएको किसानहरुले बताए।

अर्का कुखुरा व्यवसायी गंगोत्री सेटीले नेपालबाट चल्ला ल्याउँदा इन्ट्री गर्ने र उत्पादन गरेपछि बिक्रिका लागि लैजाने क्रममा प्रहरीले अवरोध गरेको बताए। दोधाराका सीमा क्षेत्रमा खटिएका सशस्त्र र नेपाल प्रहरीले भारतबाट नुनसमेत ल्याउन नपाईने अवस्थामा कुखरा कहाँबाट ल्याउन सकिन्छ भन्दै अवरोध गरिरहेको उनले दुखेसो पोखे। किसानले आन्दोलन गरेपछि सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री मान बहादुर सुनार र दोधाराचाँदनीका मेयर वीर बहादुर सुनार अवरोध गरिएको स्थानमा पुगेपछि प्रहरीले कुखुरा छाडेको छ।

दोधाराचाँदनीका मेयर वीर बहादुर सुनारले प्रहरीले यसरी स्थानीय किसानलाई रोक्नु निन्दनीय र गलत भएको टिप्पणी गरे। मेयर सुनारले प्रमाण हुँदाहुँदै प्रहरीले रोक्ने काम गलत भएको बताए। प्रहरीले भने आफूहरुले अवरोध नगरेको भन्दै नेपाल आएको चल्ला र भारत जान लागेको खुुकुराको वितरण भेरिफाई मात्रै गरेको जनाएको छ। ‘हामीले अवरोध गरेका छैनौँ,’ इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज भरत राज गिरीले भने ‘कुखुरा ओसार्नेहरुलाई सामान्य सोधपुछ गरेर छाडेका हौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web