क्रियाशील सदस्यताबारे देउवा र पौडेलबीच छलफल

भदौ ६, २०७८ मा प्रकाशित
Published at 2021-08-22

285 views

काठमाडौँ । क्रियाशील सदस्यता विवाद टुंग्याउन नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ । महाधिवेशनको कार्यक्रम शुरु हुन १२ दिन मात्रै बाँकी हुँदा पनि कांग्रेसले क्रियाशील सदस्यता टुंग्याउन सकेको छैन ।

क्रियाशील सदस्यताको बाँकी काम टुंग्याउने जिम्मा पाएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सहमतिको खाका तयार गरेको जनाइएको छ ।

उनीहरुले शनिबार साँझ प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बालुवाटारमा छलफल गरेका छन् ।

शुक्रबार पनि तीन नेता सम्मिलित समितिले सभापति देउवा र वरिष्ठ नेता पौडेलसँग छलफल गर्दै सहमतिका लागि शनिबारसम्मको समय मागेको थियो ।

कांग्रेसले भदौ १८ मा वडा अधिवेशनको मिति तय गरेको छ । तर अहिलेसम्म निर्वाचन समितिले क्रियाशील सदस्यताको अन्तिम सूची पाएको छैन ।

साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यतासम्बन्धी बाँकी काम टुंग्याउने जिम्मा तीन नेतालाई दिएको थियो । भदौ २ मा सहमति गरेर भदौ ३ गते सभापतिलाई बुझाउनुपर्ने केन्द्रीय समितिको निर्णय थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.