सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । नगरपालिकाले विगतमा हप्तामा दुई दिन फोहर उठाउने गरेकामा मेलम्ची–इन्द्रावती बाढीपछि ठप्प भएको छ ।
नगरपालिकाले फोहर प्रशोधन केन्द्रसमेत निर्माण गरी फोहर व्यवस्थापनको तयारी गरेका बेला बाढीले केन्द्र नै बगाइदिएको छ । होटल, तरकारी पसल, किराना पसल तथा घरघरबाट निस्कने फोहर व्यवस्थापन नहुँदा अहिले मेलम्चीका खहरेखोला र बजार आसपासका छेउछाउ फोहरले भरिएका छन् ।
यस्तै, फोहोर र प्लाष्टिकजन्य पदार्थसमेत जलाउने गर्दा बजारमा बस्नसमेत उकुसमुकुस हुने गरेको त्यहाँका नवराज दुलालले बताउनुभयो । अहिले नदीलाई पुरानै धारमा फर्काइ नदी किनारका बस्ती जोगाउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गर्दा अन्य काममा ध्यान दिन सकेको छैन । दीर्घकालीन सोचका साथ फोहर व्यवस्थापनका लागि ठाउँको खोजी भइरहेको मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो ।
28.13¡ÆC