पौडेलद्धारा विशेष महाधिवेशन प्रस्ताव

साउन २१, २०७८ मा प्रकाशित | 382 views

काठमाडौँ । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने प्रस्ताव अघि सारेको छ । क्रियाशील सदस्यता विवादले महाधिवेशन तालिका प्रभावित बनेपछि पौडेल पक्षले यस्तो प्रस्ताव अघि सारेको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भने विकल्प अस्वीकार गर्दै भदौ १६–१९ मै केन्द्रीय महाधिवेशन गराइछाड्ने बताएका छन् ।

क्रियाशील सदस्यताको विवाद मिलाउन बुधबार बसेको शीर्ष तहको बैठकमा पौडेल पक्षले १३ औं महाधिवेशनका प्रतिनिधि सहभागी हुने गरी विशेष महाधिवेशनमार्फत दुई वर्षका लागि तदर्थ समितिको निर्वाचन गराउने प्रस्ताव अघि सारेका हुन् । ‘विकल्प सोच्ने कुरा छैन, भदौमै महाधिवेशन हुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘कुनै पनि हालतमा म महाधिवेशन गराइछाड्छु ।’

पौडेलले क्रियाशील सदस्यताको विवाद मिलाउन गम्भीर नबनेको भन्दै आशंका प्रकट गरेका थिए । अन्य पार्टीबाट आएकाहरूलाई समायोजन गर्ने नाममा महाधिवेशन प्रभावित हुने गरी सदस्यता बाँडिएको पौडेलको आरोप छ । उनले विधि र प्रक्रियाविपरीतका सबै सदस्यता स्थगन गरेर अघि बढ्नुपर्ने विकल्प पनि अघि सारेका थिए ।

बैठकमा संस्थापन पक्षबाट देउवाका अतिरिक्त सहमहामन्त्री प्रकाशशरण महत, संस्थापनइतर पक्षबाट पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहयोगीका रूपमा नेता मीनेन्द्र रिजाल सहभागी थिए । सदस्यता छानबिन समितिले समायोजनसँग सम्बन्धित सदस्यतामा देखिएको विवाद मिलाउन नसकेपछि शीर्ष नेतालाई जिम्मा दिएको थियो । शीर्ष नेताहरूबीच नै विवाद बढेपछि समयमै महाधिवेशन हुनेमा अन्योल खडा भएको हो ।

भदौ १६–१९ मा महाधिवेशन गर्न नसके पार्टीको वैधानिकता जोखिममा पर्ने भन्दै पौडेल पक्षले त्यसबाट बचाउन विशेष महाधिवेशनको ‘कार्ड’ अघि सारेको हो । ‘भदौ २३ बाट यो कार्यसमितिको अस्तित्व समाप्त हुन्छ । त्यसपछि म्याद थप्ने कार्यमा हामी संलग्न हुने छैनौं,’ बैठकमा पौडेलले भनेका थिए, ‘महाधिवेशन हुन्छ भनेर मात्रै हुन्न । क्रियाशील सदस्यता टुंग्याउन पनि गम्भीर हुनुपर्छ ।’ संस्थापन पक्षका नेताले भने यसअघि सहमति जनाइसकेको सदस्यतामा समेत पछि फर्केर विवाद झिक्ने काम गरेको टिप्पणी गरेका छन् । सहमहामन्त्री प्रकाशशरण महतले विवाद मिलाउने प्रयास जारी रहेको बताए । ‘हात्ती छिर्‍यो, पुच्छर अड्कियो’ को अवस्था छ । सहयोग गरे सहज रूपमा टुंग्याउन सकिन्छ,’ उनले भने, ‘सदस्यतालाई ठूलो समस्याका रूपमा नलिई समन्वय गरेर जान सके अझै पनि तोकिएकै मितिमा महाधिवेशन सम्भव छ ।’ महतले सभापति देउवा तोकिएकै मितिमा महाधिवेशन गराउन लचिलो भएको बताए ।

पौडेलपक्षीय नेता रामशरण महतले भने क्रियाशील सदस्यताको बेथिति डरलाग्दो रहेको बताए । अन्य पार्टीका नेता तथा कार्यकर्ता समायोजनमार्फत पार्टी कब्जा गर्ने नियतबाट सदस्यता वितरण भएको दाबी उनले गरे । ‘प्रदेश २ का जिल्लालगायत धेरै ठाउँमा सदस्यता वितरणमा विकृति व्याप्त छन् । त्यसको विरोधमा पार्टी कार्यालयमा धर्ना र अनशन भइरहेका छन् । यो बेथिति नसच्याइकन महाधिवेशनको तिथि तोक्ने कुरा हुन्न,’ उनले भने, ‘महाधिवेशनलाई निष्पक्ष र धाँधलीरहित बनाउन विधानविपरीत बाँडिएका सदस्यता रोकिनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web