बिमला वलीले नेकपा एमाले नछाड्ने

साउन १९, २०७८ मा प्रकाशित | 473 views

काठमाडौ । लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्री वलीले आफू एमालेमै रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरूले बहुमतको सरकार गठन गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएको केही समयपछि वलीले विज्ञप्ति निकालेर आफू सूर्य चिह्नबाट चुनाव लडेकाले पार्टी विभाजन भए पनि एमालेमै बस्ने निर्णय गरेको बताउनुभएको हो ।

विपक्षी दलहरूले प्रदेश प्रमुखलाई बुझाएको निवेदनमा वलीसमेत गरी ४१ जना सांसदको समर्थन रहेको उल्लेख थियो । तर वलीले आफू एमालेमा रहेकाे बताएसँगै विपक्षी दलसँग बहुमत नपुग्ने भएको छ । यसअघि नेकपा पार्टी छँदा सूर्य चिह्नबाट चुनाव जित्नुभएकी वलीले पार्टी विभाजनपछि माओवादी केन्द्र रोजेको बताउनुभएको थियो ।

वलीले निकाल्नुभएको विज्ञप्तिमा प्रदेश सभामा रहँदा सुरुमा पार्टीप्रति केही गुनासा र अविश्वास भए पनि ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै एमाले पार्टी र एमाले प्रदेश सभा संसदीय सदस्यको रूपमा रहने प्रतिबद्धता जनाउनुभएको छ ।

दाङ क्षेत्र नम्बर ३ ख की सांसद वली एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको निधन भएपछि उपचुनावमा निर्वाचित हुनुभएको हाे ।

लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका सभामुखसहित १९ जना, जनता समाजवादी पार्टीका तीन जना र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन् । विमला वली एमालेमा फर्किएपछि विपक्षी गठबन्धनलाई सरकार गठनका लागि प्रदेश सभाको बहुमत नपुग्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web