काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र गलत नजिर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न प्रवक्ता किरण राईले साेमवार आफ्नो पदबाट राजीनामा दिनुभएकाे छ ।
प्रवक्ताबाट राजीनामा दिनुभएका किरण राईले विभिन्न पक्षबाट भइरहेका गतिविधि बन्द गर्न आग्रह गर्दै एन्फाको निर्वाचनको प्रक्रिया सुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव पनि पेस गर्नुभएकाे छ ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवादकाे छानबिनका लागि खेलकुद मन्त्रालयलाई जिम्मा दिने विषयमा असहमत भएका प्रवक्ता किरण राईले आफ्नो पदबाट राजीनामा दिनुभएकाे हाे ।
केन्द्रीय सदस्यसमेत रहनुभएका किरण राईले पत्रकार सम्मेलनमा नेपाली फुटबलमा देखिएका पछिल्ला गतिविधि दुवै तर्फबाट बन्द गर्न आह्वान पनि गर्नुभएकाे छ । प्रशिक्षक र उपाध्यक्षबीचको समस्या समाधानका लागि खेलकुद मन्त्रालयलाई जिम्मेवारी दिने कामले गलत नजिर बसाउने राईकाे भनाइ छ ।
अहिले नेतृत्वको टकरावका कारण फुटबलको हित नहुने भन्दै उहाँले एकले अर्कालाई दोषारोपण गर्ने काम बन्द गर्न आग्रह गर्नुभएकाे छ । पदाधिकारीका रूपमा समितिको कामको विरोध गर्न नमिल्ने भएकाले स्वतन्त्र तरिकाले खबरदारी गर्न राजीनामा दिने निर्णय भएको प्रवक्ता राईले बताउनुभयाे । प्रवक्ताबाट हटे पनि केन्द्रीय सदस्य पदमा रहिरहने उहाँले बताउनुभयाे ।
एन्फाको नयाँ नेतृत्व चयनका लागि आउँदाे वैशाखमा चुनाव हुँदैछ । चुनाव नजिक आउँदै गर्दा अहिले एन्फामा अध्यक्ष कर्माछिरिङ पक्ष र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको मतभेद चुलिँदै गएको छ ।
23.12¡ÆC