काठमाडौ । असोजदेखि कात्तिकका लागि सारिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज आइतवार डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने बताएको छ । एन्फाले यस पटक पुरस्कार राशि बढाएर ७५ लाख रुपैयाँ पुर्याएकाे हो । यसअघिको सिजनमा विजेताले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ ।
यस्तै एन्फाले क्लबलाई तयारी खर्चका लागि २०/२० लाख रुपैयाँसमेत उपलब्ध गराउने छ ।
यस्तै एन्फाले लिग सुरु हुने मिति पछि सारेको छ । परिवर्तन गरिएको तालिकाअनुसार लिग आउँदाे कात्तिक २९ गतेदेखि हुनेछ । ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरिएको हो ।
यही छलफलबाट सहभागी क्लब लिग खेल्न सहमत भएको बताइएकाे छ । यसअघि ललितपुरका चार क्लबले काेराेना महामारीलाई कारण दिएर असोज ३ गतेदेखि लिग खेल्न नसक्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए ।
अक्टोबर पहिलो हप्ता साफ च्याम्पियनशिप आयोजना हुने सम्भावना भएकाले लिग पछाडि सारिएको हो । साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेस गरेका छन् ।
17.12¡ÆC