म्याग्दी । कालीगण्डकी नदी दोहन तथा उत्खनन गर्ने एक्स्काभेटर र ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार कालीगण्डकीकाे स्थलगत अनुगमन गर्ने क्रममा म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरको नदी किनारबाट एक्स्काभेटर र ट्र्याक्टर नियन्त्रणमा लिइएको हो ।
सुरक्षा निकायले अनुगमनका क्रममा अवैध रूपमा नदी दोहन गर्ने काममा प्रयोग भएको एउटा एक्स्काभेटर र ध १ त ५८० नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
कालीगण्डकी नदी दाेहन गरेकाे र अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएकाले एक्स्काभेटर र ट्र्याक्टरलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले बताउनुभयो ।
कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्त्व भएकाले स्थानान्तरण गर्ने, रिजर्भवायल बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालिग्राम चोरी, निकासी तथा पर्यावरण प्रतिकूल हुने गरी कार्य नगर्नू/नगराउनू भनी सर्वोच्च अदालतबाट उत्प्रेषण आदेश जारी भएको छ ।
यस्तो अवस्थामा आउँदा दिनमा निगरानी बढाइ अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी, निकासीलाई थप कडाइका साथ कार्यान्वयन गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।
18.17¡ÆC