आन्तरिक पर्यटक बढ्न थाले, व्यवसायीमा कोरोनाको त्रास कायमै

साउन १३, २०७८ मा प्रकाशित | 405 views

लेखनाथ । पोखरा महानगरपालिकाको लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा आन्तरिक पर्यटक आउन थाले पनि कोरोना संक्रमणको त्रास भने हट्न सकेको छैन ।

स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पारेपछि होटलमा आन्तरिक पर्यटक आउन थालेका छन् । तर व्यवसायीहरुमा कोरोनाको त्रास कायमै देखिन्छ ।

कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई पूर्ण रुपमा सहज तुल्याउन सरकारले चाँडो सबैलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप ल्याउनुपर्ने व्यवसायीहरुको माग छ । ‘दुई हप्ताबाट आन्तरिक पर्यटक आउन शुरु भएको छ, तर सङ्क्रमणको त्रासका बीच पाहुनाको सेवा गरेका छौं,’ बेगनास तालस्थित ग्राण्ड होटलका सञ्चालक दुर्गाप्रसाद अधिकारीले भने, ‘विकास निर्माणका कामलाई एक वर्ष थाँती राखेर भए पनि नेपाल सरकारले सम्पूर्ण नेपालीलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप लगाउन जरुरी छ ।’

सार्वजनिक बिदाका दिन बेगनासमा पर्यटक घुम्न आउने क्रम शुरु भएको व्यवसायीहरु बताउँछन् । कटौती गरी बाँकी रहेका एक दुईजना कर्मचारी र आफैंले पनि पाहुनालाई सेवा दिंदै आएको होटल व्यवसायी अधिकारीले बताए ।

‘घर भाडामा लिएर होटल सञ्चालन गर्ने केही व्यवसायी विस्थापित भइसकेका छन्, आफ्नै घरमा होटल सञ्चालन गर्नेले भने एक दुई कर्मचारी राखेर भए पनि होटल तथा रेष्टुराँ धानेका छौं, भिजिट नेपाललाई लक्षित गरी लगानी बढायौं, तर कोरोना सङ्क्रमणकै कारण बैंकको ब्याज तिर्न कठिन भएको छ,’ होटल तथा रेष्टुराँ एशोसिएसन लेखनाथका अध्यक्ष अर्जुन लम्सालले भने, ‘सरकारले व्यवसायीलाई पुनः कर्जाको व्यवस्था गर्नुपर्छ ।’

लेखनाथमा २०० को हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । एशोसिएसनमा आवद्ध भने १०५ मात्र छन् । अध्यक्ष लम्सालका अनुसार रिसोर्टदेखि साना होटलले यहाँ आउने पर्यटकलाई सेवा पु¥याउँदै आएका छन् ।

बेगनासस्थित न्यू थकाली भान्साघरका सञ्चालक नितेश लालचन भन्छन्, ‘केही दिनदेखि दिउँसोको खाजा खाने गरी आन्तरिक पर्यटन बेगनास आउन थालेका छन् ।’ बेगनासतालमा पाइने विभिन्न जातका माछाको स्वाद लिन यहाँ पर्यटक पुग्ने गर्छन् ।

सात तालको बगैंचा शहरका रुपमा परिचित लेखनाथमा यतिबेला अधिकांश पर्यटक पोखराबाट नै आउने गरेको होटल व्यवसायी चित्रबहादुर गुरुङ बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web