कमला खोलामा आएको बाढीले धनुषाका पूर्वीक्षेत्रका गाउँहरू जोखिममा

साउन ५, २०७८ मा प्रकाशित | 536 views

जनकपुरधाम । सोमबार रातिदेखिको अबिरल वर्षाका कारण कमला खोलामा बाढी आएको छ । कमला नदीमा आएको बाढीले धनुषातर्फको बाँध कटान सुरु गरेको छ । बाढीले सबैला नगरपालिका–१३ स्थित किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान गरिरहेको छ ।

कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईका अनुसार चौडाइमा करिब ८० प्रतिशत कटान भइसकेको छ भने लम्बाइमा चार सय मिटर कटान भएको छ । बाढीले नदीको ६ सय मिटर बाँध जोखिममा छ । मंगलबार बिहानको निरीक्षणपछि बाँध जोगाउने काम सुरु भएपनि अझै (मंगलबार साँझसम्म) नियन्त्रण हुन सकेको छैन । बाँध मर्मतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले काम गरिरहेका छन् ।

कार्यालय प्रमुख भट्टराईले भने, “सकारले चालु वर्षमा मर्मत सम्भार गर्न पैसा नै दिएन । बाँकी स्थानीय र प्रदेश सरकारले आश्वासन मात्रै दिन्छ । संघ सरकारले ५० लाख दिने कुरा गरेको छ । तर, अधिकारिक रूपमा आएको छैन् ।”

बाढीका कारण हुनसक्ने सम्भावित जोखिमबाट स्थानीयहरूलाई सतर्क गराइएको छ । बाँध कटान गर्न थालेपछि धनुषाका पूर्वीक्षेत्रका गाउँहरू जोखिममा परेका छन् । खोलामा बाढी आएपछि स्थानीयहरू त्रसित बनेका छन् । बाढीले धनुषाको सबैला नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँहरू डुबानमा पर्ने जोखिम बढेको छ ।

बाढीका कारण डुबान हुनसक्ने क्षेत्रमा प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web