संसदीय राजनीतिमा विकृति दोहोरियो : नेता ज्ञवाली

साउन ३, २०७८ मा प्रकाशित | 423 views

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले संसदीय राजनीतिमा विकृति दोहोरिएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गरेका प्रस्तावबारे पार्टीका तर्फबाट धारणा राख्दै उनले विगतमा पनि नेपाली कांग्रेस र एमालेका आफ्नै सांसद्ले मत नदिँदा ती पार्टी नेतृत्वका सरकार ढलेर संसदीय राजनीतिमा विकृति भित्रिएको स्मरण गरे ।

‘प्रश्न को सरकारमा गयो वा गएन भन्नेमा होइन, प्रश्न संसदीय प्रणाली बलियो भयो कि भएन भन्ने हो । सही खेल भयो कि भएन भन्ने हो’, एमालेका प्रवक्ता ज्ञवालीले भने । उनले भने, ‘विसं २०५२ मा प्रधानमन्त्री मनमोहन अधिकारी घाइते भएका बेला सदनमा आएर अविश्वासको प्रस्तावमाथि जवाफसमेत दिन नपाई हटाइएको थियो ।’

उनले आफ्नो पार्टीलाई अप्रिय लागे पनि अदालतको फैसला आफूहरूले मान्ने तर शक्ति पृथकीकरणको राज्यको परिकल्पनामा खलल पर्न गएको टिप्पणी गरे ।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राष्ट्रियता, शान्तिपूर्ण राजनीतिको यात्राको थालनी, विकास र समृद्धिका क्षेत्रमा गरेका कामलाई जनताले सम्झिइरहने उनले विश्वास व्यक्त गरे । उनले सर्वोच्च अदालतको गत असार २८ गतेको फैसला संसदीय राजनीतिका लागि दूरगामी प्रभाव पर्ने खालको भएकाले एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन नसक्ने स्पष्ट गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web