काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिएका समस्याबारे वन तथा वातावरण मन्त्रालयले छानबिन गर्ने भएको छ । निकुञ्जभित्रको मध्यवर्ती क्षेत्रमा ढुंगा, गिट्टी र बालुवामा भएको ठेक्का, निकुञ्ज–नेपाली सेनाबीच देखिएको समस्या र बाघको आक्रमणमा परी महिलाको ज्यान गएपछि सौराहा सेक्टर कार्यालयमा भएको तोडफोडको घटनाबारे छानबिन गर्न मन्त्रालयको टोली आइतबार निकुञ्ज जाँदै छ ।
असार दोस्रो साता भएको भर्चुअल वार्डेन सेमिनारमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) अणनाथ बरालले सेनाले समन्वय नगरेको आरोप लगाएका थिए । उक्त अभिव्यक्तिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु निर्देशनालयले आपत्ति जनाएपछि निकुञ्ज विभाग र मन्त्रालयले चासो देखाएका थिए । चितवन निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको खड्गदल गण तैनाथ छ । सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु निर्देशनालयका निर्देशक सहायक रथी (जर्नेल) हिमांशु खड्काले चिफ वार्डेन बरालले नै समन्वय गर्न नचाहेको भन्दै खण्डन गरेका थिए ।
चिफ वार्डेन बरालमाथि मध्यवर्ती क्षेत्रको गिट्टी, ढुंगा, बालुवाको ठेक्कामा ‘चलखेल’ गरेको आरोप पनि लागेको छ । मन्त्रालयले गत वर्ष साउनमा बराललाई बर्दिया निकुञ्जबाट चितवन निकुञ्जको चिफ वार्डेनमा सरुवा गरेको थियो । मुलुकको पहिलो चितवन निकुञ्जमा प्रमुख बन्न उपसचिवहरूबीच प्रतिस्पर्धा चल्छ । प्राय:जसो निकुञ्ज विभागका वरिष्ठमध्येका उपसचिवलाई त्यहाँ प्रमुख बनाउने गरिन्छ । बरालले भने गिट्टी, ढुंगा, बालुवाको ठेक्कालगायतका मध्यवर्ती क्षेत्रका गतिविधिमा सम्बन्धित मध्यवर्ती क्षेत्र उपभोक्ता समितिसँगसमेत समन्वय गरिने भएकाले आफूमाथि लगाइएको आरोपको कुनै तुक नभएको जिकिर गरेका छन् । ‘कुनै पनि काम निकुञ्ज एक्लैले गर्ने होइन,’ उनले भने, ‘त्यसमा सम्बन्धित उपभोक्ता समितिका पदाधिकारीहरूसँग समेत छलफल गरेर निर्णय गरिन्छ ।’ चितवन निकुञ्जअन्तर्गत २१ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति छन् ।
निकुञ्जको स्थलगत अध्ययनमा जानुअघि टोलीका संयोजक पौडेलले सबै सदस्यलाई बोलाएर मन्त्रालयले दिएको कार्यादेशबारे छलफल गरेका छन् । पक्षपात नगरी यथार्थ विवरण बाहिर ल्याउनु आफूहरूको दायित्व रहेको उनको भनाइ छ । खरो स्वभावका बराल यसअघि ढोरपाटन सिकार आरक्षमा प्रमुुख हुँदा पनि विवादमा परेका थिए । त्यतिबेला उनलाई निकुञ्ज विभागका तत्कालीन महानिर्देशक मनबहादुर खड्काले १५ दिन विभागमै तानेर अनुसन्धानका लागि विभागीय टोली पठाएका थिए ।
रत्ननगर नगरपालिका–५ मगर टोलकी ३२ वर्षीया गीता अधिकारीलाई असार पहिलो साता घर आडको जनकौली मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेपछि स्थानीयले सौराहामा रहेको पूर्वी सेक्टर कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । घटनास्थल नजिकै रहेको निकुञ्जको सेक्टर कार्यालयले उद्धार गर्न तत्परता नदेखाएको स्थानीयको आरोप छ । उद्धारमा चिफ वार्डेन बरालले तत्परता नदेखाएको उनीहरूको भनाइ छ ।
निकुञ्जअन्तर्गतको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले आक्रमण गरेलगत्तै निकुञ्जले बाघ धपाएर महिलाको शव तत्काल बाहिर नल्याएकाले प्रदर्शन गरेको बताएका थिए । घटना दिउँसो १ बजेतिर भए पनि निकुञ्जको निर्देशनपछि साढे ४ बजेतिर मात्रै वन्यजन्तु प्राविधिक टोलीले डार्ट गरेर बाघलाई लठ्याएको थियो । वार्डेन बरालले भने घटना भएको ४५ मिनेटभित्रै हात्तीसहितको टोली घटनास्थलमा पुगेको दाबी गरेका थिए ।
21.05¡ÆC