ओलम्पिकमा सहभागी हुने टोलीनेतालाई राष्ट्रपतिबाट झण्डा हस्तान्तरण

असार ३१, २०७८ मा प्रकाशित | 602 views

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ८ गतेदेखि जापानमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा सहभागी हुने नेपाली खेलाडीसहित टोलीलाई राष्ट्रपति भवनमा सफलताको शुभकामना दिँदै विदाई गर्नुभएको छ ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक खेलमा सहभागी हुने टोलीनेता राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो ।
ओलम्पिक खेलमा भाग लिने खेलाडीहरूले देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने आशा राष्ट्रपतिले व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “विश्वस्तरीय प्रतिस्पर्धा हुने ओलम्पिक खेलमा नेपालको सहभागिताबाट हाम्रो खेलको स्तर अभिवृद्धि गर्नका निम्ति ठूलो अनुभव र अवसर प्राप्त हुन्छ । यस खेलको अन्तर्राष्ट्रिय जगतले सुक्ष्म अवलोकन तथा विश्लेषण गर्ने हुनाले स्थापित नियमहरूको पालना गर्दै अनुशासित भएर प्रतिस्पर्धामा सहभागी हुँदा खेलाडीहरूले राष्ट्रको गरिमालाई माथि उठाउन सक्छन् ।”
नेपालले खेलकूदका क्षेत्रमा थप प्रगति गर्नुपर्ने उल्लेख गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले आगामी खेलको विकासका लागि दत्तचित्त रहन सम्बन्धित निकायको ध्यान आकृष्ट गराउनुभयो ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ तथा सचिव माननीय तुलसा थापा, युवा तथा खेलकूद मन्त्रालयका सचिव केदार न्यौपाने, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, वरिष्ठ खेल अधिकारीका साथै प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web