खहरेले सयौं बिघा खेत बगर

असार ३०, २०७८ मा प्रकाशित | 332 views

सिन्धुली । चुरेबाट निस्कने खहरेले बगाएर ल्याउने गेग्रानले यो वर्ष जिल्लाको सयौं बिघा खेत पुरेको छ । कमलामाई नगरपालिका–१ का किसान गणेश कार्कीले खहरेले पुरेको खेतलाई सम्याएर खेती गर्न थालेको ३ वर्ष पनि नबित्दै खेत फेरि बगर बनेको छ । चुरेबाट निस्केको मछिने खहरेले उनको १० कट्ठा खेतलाई बगर बनाएको हो ।

‘२०५० मा आएको बाढीले पुरेको खेतलाई सम्याएर खनीखोस्री गरी उब्जनी हुने बनाएका थियौं,’ उनले भने, ‘यसपालिको खहरेको बाढीले पूरै बगर बनायो, धानको बीउसमेत काम लागेन ।’ खेत ठूला ढुंगा र गेग्रानले भरिएको उनले बताए । जोखिम आकलन गर्दै यसअघि नै तटबन्ध बनाउन स्थानीय तहमा हारगुहार गर्दासमेत सुनवाइ नभएकाले आफू फेरि पीडित भनेको उनले गुनासो गरे ।

यहाँ बर्सेनि खहरेले खेतबारी पुर्ने र कटान गरिरहेको हो । ‘तर यो वर्ष अलि बढी नै भयो,’ अर्का किसान नारायण कार्कीले भने । दुधौली नगरपालिकाबाट सुरु हुने चुरेक्षेत्र कमलामाई हुँदै मरिण र हरिहरपुरगढी गाउँपालिकासम्म पर्छ । कमलामाई–९ का किसान हडिन्द्र चौलागाईंले धान रोप्न तयार पारेको ७ कट्ठा खेत खहरेले पुरेको दुखेसो पोखे । पहाडबाट खेती गरेरै जीविकोपार्जन गर्न बसाइँ सरेर आएका उनलाई खहरेका कारण यहाँबाट पनि उठिबास लाग्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । ‘खहरे छेउमा अलि सस्तो खेत भेटेकाले जोडेको थिएँ । दुई–तीन पटक उर्लिएको बाढीले सबै बगर बनायो,’ उनले भने, ‘चुरे भित्रभित्रै जंगल सबै सखाप भएको रहेछ, पाखै बगेर आउँछ ।’

डिभिजन वन कार्यालयको रेकर्डमा चुरेक्षेत्रमा ३७ वटा खहरे छन् । कार्यालय प्रमुख थिरबहादुर कार्की चुरे विनाशले धेरै नयाँ खहरे थपिएका बताउँछन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई स्थानीय तहसम्म नै लगेर प्रभावकारी कार्यान्वयन गर्न सके मात्र दीर्घकालीन संरक्षण हुने उनको तर्क छ । भन्छन्, ‘अहिले त्यो कार्यक्रम जिल्लास्तरमा समेत छैन ।’

जिल्लामा २ लाख ४७ हजार हेक्टर कुल वन क्षेत्रमध्ये १ लाख ६४ हजार चुरेको वन छ । खहरेबाट ढुंगा, गिट्टी, बालुवालगायत सबै निकाल्दा खोलाले धार परिवर्तन गर्ने र खेत कटान गर्ने किसानको अनुभव छ । बर्सेनि खहरे र खोल्साहरू कसरी थपिए भन्ने खोज अनुसन्धान नहुँदा किसानका खेतबारी ढड्यानमा परिणत भएको सिन्धुली बहुमुखी क्याम्पसका प्राध्यापक ईश्वर बस्नेतले बताए । भन्छन्, ‘चुरेका खहरेबाट सालिन्दा दर्जनौं किसान सुकुम्बासी बनेर बसाइँसराइ गर्छन् तर खहरे रोकथाम हुने उपाय कसैले लगाएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web