नारायणगढ(मुग्लिन) सडकमा पहिरोको ‘पासो’

असार ३०, २०७८ मा प्रकाशित | 306 views

काठमाडौँ । संघीय राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम क्षेत्रसँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक कुनै बेला साँघुरो भएर सास्ती हुने गरेको थियो । ६ वर्षअघि यो सडकलाई एसियाली मापदण्डअनुरुप दुई लेनको बनाउन विस्तारको काम सुरु भयो । त्यसपछि सडक फराकिलो त भयो तर विस्तारसँगै सुरु भएको पहिरोको पीडाबाट छिट्टै छुटकारा पाउने संकेत छैन ।

नारायणगढदेखि ३३ किलोमिटर पर कालीखोलामा पहिरो खसेपछि यो सडकमा सोमबार दिनभर गाडी चल्न सकेनन् । विगतका वर्षमा कालीखोलामा पहिरो गएर हैरानै पार्थ्यो । त्यहाँ नियन्त्रणको काम पनि भयो । ‘नियन्त्रणको काम भएपछि कालीखोलानजिक दुई ठाउँको पहिरो रोकियो । तर सोमबार नयाँ ठाउँमा पहिरो खस्यो,’ डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने, ‘त्यो ठाउँ सडक विस्तार हुँदा पहाड काटेको ठाउँ त हो तर काटेको ठाउँको स्लोप मिलेको थियो । बायो इन्जिनियरिङ गरेपछि घाँस बिरुवा राम्रैसँग उम्रिएका थिए । तैपनि पहिरो खस्यो ।’ उक्त पहिरो सफा गरेर सोमबार साँझ एकतर्फी र मंगलबार बिहानबाट दुईतर्फी रूपमै गाडी चलेका थिए ।
मध्य असारपछि नारायणगढ–मुग्लिन सडकमा निरन्तर पहिरो खसिरहेको छ । असार १६ को राति पाँचकिलोमा र त्यसको भोलिपल्ट बिहान चारकिलोमा पहिरो खस्यो । अन्य साना पहिरो पनि ठाउँ–ठाउँमा खसे । १७ गते साँझ नारायणगढदेखि १४ किमि पर सडकमा भीमकाय ढुंगासहितको पहिरो खस्यो । यो सडकमा सबैभन्दा ठूलो समस्या असार १८ को साँझ भोर्लेनजिक सेतीदोभानमा गएको पहिरोले ल्याएको छ । असार १६ यता खसेका धेरै ठाउँको पहिरो एक–दुई दिनमै सफा गरेर गाडी चल्न थालेका थिए । तर सेती दोभानमा साता दिनसम्म सहजै गाडी चल्न पाएनन् । असार २५ यता केही सहज देखिए पनि सेतीदोभानमा पहिरोको खतरा कायमै रहेको इन्जिनियर खनाल बताउँछन् । ‘सेतीदोभनमा पाखाभरिको ढुंगामाटो जति सफा गरे पनि बगेको बग्यै गर्‍यो । त्यो अहिले केही मन्थर मात्रै भएको छ, साम्य भएको छैन,’ उनले भने ।

विस्तारको क्रममा यो सडक खण्ड अवरुद्ध हुनु स्वाभाविक थियो । तीन वर्षअघि विस्तारको काम सकियो । यस क्रममा ठाउँ–ठाउँमा पहाड काट्नुपरेको थियो । यसअघि साढे ५ मिटर चौडा सडक विस्तारपछि ९–११ मिटरसम्म फराकिलो बन्यो । सडक फराकिलो त भयो तर पहिरोले बाटो छेक्न थाल्यो । सडक विस्तारमा ३ अर्ब रुपैयाँ खर्च भएको थियो । विस्तारका समयमा पहाड काटिएका ३२ ठाउँलाई पहिरोग्रस्त क्षेत्र पहिचान गरी थप ३० करोड रुपैयाँ खर्चेर पहिरो नियन्त्रणको काम पनि भयो । ‘पहाड काटेको ठाउँमा पहिरो गएपछि रोक्नलाई सबै ठाउँमा काम भएको छ । चारकिलोमा गत वर्ष काम गर्दागर्दै पहिरो गयो । त्यहाँ पनि पुरानो पहिरो रोक्यौं तर गत वर्ष खसेको पहिरो रोक्न केही काम हुनै पाएको थिएन । यो पटक सोही ठाउँमा पहिरो गएर दुःख दियो,’ नारायणगढ–मुग्लिङ सडक आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविना रानाभाटले भनिन् । योबाहेक यो वर्ष अरू ठाउँमा खसेका ठूला पहिरो सबै नयाँ हुन् ।

चौधकिलोमा अजंगको ढुंगासहित खसेको पहिरोको कारक नजिकैबाट गाउँ जान खनेको शाखा सडक रहेको खनालको अनुमान छ । पाँचकिलोमा शाखा सडकको लेदो र गेग्रानले नै बाटो रोकेको उनले दाबी गरे । नसोचेको ठाउँमा पहिरो खसेर योपटक धेरै सास्ती पाएको उनको भनाइ छ । विस्तारका बेला पहाड काटेका कारणले मात्रै नभएर त्यहाँको भौगर्भिक अवस्थाले पनि समस्या ल्याएको विज्ञको मत छ । ‘कमजोर पहाड हो । ढुंगा पनि त्यस्तो बलियो छैन । पहिरोको समस्या आउन सक्छ । त्यस्ता ठाउँहरू कहाँ–कहाँ छन् पत्ता लगाएर दीर्घकालीन योजना बनाउन आवश्यक छ,’ सडक विभागका वरिष्ठ डिभिजनल इन्जिनियर नरेशमान शाक्यले भने । पृथ्वी राजमार्गको कृष्णभीरको पहिरो नियन्त्रणको कार्यानुभव उनीसँग छ ।

नियन्त्रणको उपाय भएको हुँदा समस्या पत्ता लगाएर योजना बनाउन उनले आग्रह गरे । ‘अहिले त उपकरणहरूको सहयोग लिएर पनि अध्ययन गर्न सकिन्छ । ड्रोन उडाएर समस्याग्रस्त क्षेत्र पत्ता लगाउन सकिन्छ । कृष्णभीरको समस्या रोकियो भने त्यस्तै खाले समस्या त छन् नि त्यहाँ पनि, त्यो पनि रोकिन्छ,’ शाक्यले भने ।

सडक विभागका महानिर्देशक अर्जुन थापाले समस्याको दीर्घकालीन समाधानको खोजी भइरहेको बताए । ‘यो वर्ष पानी धेरै परेको हुँदा पहिरोले अलि दुःख दियो,’ उनले भने, ‘पृथ्वी राजमार्गको जोगिमारा र कृष्णभीरमा बेहोरेको पहिरो अहिले ठप्प भयो । हामी पहिरो रोक्न सक्षम छौं । नारायणगढ–मुग्लिन सडक पनि पहिरोको पीडामा लामो समय रहन्न ।’ हिउँद लागेपछि समस्या पहिचान र नियन्त्रणका काम सुरु हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web