हत्या आरोपमा ४ जना पक्राउ

असार ३०, २०७८ मा प्रकाशित | 287 views

महोत्तरी । महोत्तरीको लोहारपट्टि ७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्या आरोपमा ४ जना पक्राउ परेका छन् । उनीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मृतक सुजिताका देवर वर्ष २९ का रुपेश ठाकुर, भ्रमरपुरा ७ का ३७ वर्षका बण्डा भनिने किशोरी मण्डल, वर्ष ३३ का मुल्ला भनिने आदम राईन र ३२ वर्षका नथुनी मण्डल रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

असार १३ गते नै प्रहरीले सुजिताका श्रीमान् मुकेश ठाकुर र देवर रुपेशलाई नियन्त्रणमा राखेको र अन्य ३ व्यक्तिलाई अनुसन्धानपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले जानकारी दिए । जेठ २० गतेबाट वेपत्ता भएकी सुजिताको खोजी गर्ने क्रममा असार १३ गते खेतमा धानको ब्याड राखेको ठाउँमा ७ फिट तल उनको कपाल, पोको पारेको तन्ना र झ्यालको पर्दा सँगै शव गलाउन राखिएको नुन र केमिकल भेटिएपछि प्रहरीले सुजिताको हत्या भएको ठहर गरेको थियो ।

सोही दिन प्रहरीले मृतक ठाकुरको देवर रुपेश र श्रीमान्‌ मुकेशलाई पक्राउ गरेको भए पनि श्रीमान्‌को घटनामा संलग्नतानदेखिएको भन्दै प्रहरीले उनलाई छोडेको छ । देवर रुपेश हत्यामै संलग्न र अन्य पक्राउ परेका व्यक्ति शव ओसारपसारमा सहयोगी देखिएको प्रहरीले जनाएको छ ।

सुजिताका ससुरा पतिराम ठाकुर, सासु रामपती देवी र देउरानी रोमी भनिने प्रिया ठाकुर भने फरार छन् । घटनाबारे अनुसन्धान जारी रहेकाले सुजिताको हत्या के कारण गरिएको हो भन्ने अझै खुलिनसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web