ओलीले गरेका खराब काम नयाँ सरकारले सच्याउनुपर्छ : कांग्रेस नेता सिंह

असार २९, २०७८ मा प्रकाशित | 438 views

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका खराब काम सच्याएर अघि बढ्न नयाँ सरकारलाई सुझाव दिएका छन् ।

सर्वाेच्च अदालतको फैसलापछि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री नियुक्त हुँदैछन् । नेता सिंहले ओलीले गरेका खराब कामलाई नयाँ सरकारले सच्याउनुपर्ने बताए ।

‘तीन वर्षमा ओलीले गलत शासनका नाममा फोहोर डंगुर थुप्रिएको छ,’ मंगलबार धुलिखेलमा आयोजित एक कार्यक्रममा नेता सिंहले भने, ‘ओलीले जति पनि खराब काम गरेका छन्, त्यसलाई करेक्सन गरेर नयाँ सरकार जानुपर्दछ ।’

उनले ओली सरकारको गलत कामको भारी बोकिरहे कांग्रेसलाई आउँदो निर्वाचनमा घाटा हुने बताए ।

नेता सिंहले ओलीको अधिनायकवादी शैलीविरुद्ध उभिन निरन्तर दवाव दिएपछि देउवा प्रधानमन्त्री बन्ने अवस्था आएको उल्लेख गरे । ‘उहाँ (देउवा) त शुरुमा चुपचाप हुनुहुन्थ्यो, हामीले नै ओलीको अधिनायकवादविरुद्ध उभिन घचघच्याएपछि आज यो अवस्था आएको हो,’ उनले भने, ‘पार्टी सञ्चालनप्रति देउवासँग हाम्रो असन्तुष्टि हो । तर संविधान र लोकतन्त्र जोगाउन कांग्रेस सरकारमा सहभागी हुनुपर्ने आवश्यकता आयो ।’

नेता सिंहले पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा हुने दावी गरे । महाधिवेशनबारे विभिन्न भ्रम फैलाउने काम भइरहेको भन्दै संवैधानिक व्यवस्था अनुसार पनि तोकिएकै समयमा महाधिवेशन हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web