गैंडा मुद्दाका अभियुक्त : निकुञ्ज समात्ने, अदालतले धरौटीमा छाड्ने

असार २९, २०७८ मा प्रकाशित | 361 views

काठमाडौँ । गत वर्ष चितवन राष्ट्रिय निकुञ्जभित्र खागका लागि तस्करहरूले मारेका ४ वटा गैंडा भेटिएका थिए । ती घटनामा संलग्नहरू लामो समयसम्म पक्राउ पर्न सकेका थिएनन् । पक्राउ परेका मध्ये पनि केही भने अदालतको आदेशपछि धरौटीमा छुटेका छन् ।
चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्नू भनेर गरेको आदेश चित्त नबुझेर नविन पौडेल भनिने मेखबहादुर नेपाली, कैलाशबाबु आले मगर र सोमबहादुर गुरुङले उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका थिए । उच्च अदालतले बिहीबार तीनै जनालाई जनही ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको अदालतका सूचना अधिकारी तथा उपरजिस्टार कैलाश भट्टराईले जानकारी दिए ।
उनीहरू गत माघमा समातिएका हुन् । गत वर्ष भदौ २१ मा निकुञ्जको पश्चिमतर्फको आइल्यान्ड क्षेत्र नारायणी नदी किनारमा गोली लागेर मरेको भाले गैंडा भेटिएको थियो । भदौ १६ र १८ मा गोली चलेको आवाज सुनेपछि निकुञ्जले खोजतलास गर्दा मृत गैंडा भेटिएको हो । त्यसको खाग सुरक्षित रहे पनि तस्करहरूले नै मारेको खुलेको निकुञ्जले बताएको छ । त्यसैगरी, गत कात्तिक १९ मा आइल्यान्ड क्षेत्रकै मर्दी घोलमा एउटा पोथी गैंडा र बच्चा मृत फेला परे । दुवैको खाग थिएन । त्यसको पाँच सय मिटर पर दुईवटा भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने बेरिङ गोली पनि भेटिएको थियो । कात्तिक २१ मा फेरि अर्को खागविहीन मृत गैंडा भेटियो । उक्त गैंडालाई मृत भेटिएको समयभन्दा ५/६ महिना पहिल्यै मारेर खाग लगेको हुन सक्ने निकुञ्जको अनुमान थियो ।

यसरी तस्करले मारेका एकपछि अर्को गैंडा भेटिँदा पनि निकुञ्जले यो काममा संलग्न हुनेहरूलाई तत्कालै समाउन सकेन । गत पुस १३ मा यी घटनाहरूमा संलग्न भएको आशंकामा पहिलो पटक केही आरोपित समातिए । ‘गत फागुन १८ मा चितवन जिल्ला अदालतमा मात्रै यी घटनाहरूमा संलग्न भएको आरोपमा २४ जनाविरुद्ध मुद्दा दायर भयो,’ निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले भने, ‘तर त्यसबेलासम्म ११ जना मात्रै समातिएका थिए । त्यसपछि थप एक पक्राउ परे ।’

उनका अनुसार अदालतले त्यहीबेला थुनछेक आदेश गर्दा ३ जनालाई पाँच/पाँच लाख रुपैयाँ धरौटीमा छाडेको थियो । अरू थुनामा गएका थिए । तीमध्ये मेखबहादुरसहित तीन जनाले उच्च अदालतमा फैसला पुनरावलोकनका लागि निवेदन दिए । तल्लो अदालतले गरेको आदेश वा फैसला चित्त नबुझे माथिल्लो अदालतमा जान पाउने कानुनी व्यवस्था छ । ‘उनीहरू जंगल गएको पनि पुष्टि हुँदैन । न गोली हानेको भन्ने देखिन्छ । खाग किनबेचको योजना बनाएको भन्ने कुरा रहेछ तर खागै भेटिएको छैन । त्यसैले जिल्ला अदालतको आदेश उपयुक्त नभएको भन्ने हाम्रो जिकिर थियो । त्यहीअनुसार आदेश भयो,’ मेखबहादुरका तर्फबाट बहस गरेका अधिवक्ता मदन दाहालले भने ।
एकसिंगे गैंडा दुर्लभ वन्यजन्तु हो । यो गैंडा नेपाल र भारतका केही सीमित संरक्षित क्षेत्रहरूमा मात्र पाइन्छ । नेपालमा चितवन निकुञ्ज र यस आसपासको वन क्षेत्र गैंडाको मुख्य बासस्थल हो । एकसिंगे गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि तस्करहरूले यसलाई मार्छन् । मेखबहादुरले गैंडा मार्न लगाएको र खाग लगेर बेचेको चितवन निकुञ्जको आरोप छ । ‘गैंडा मार्न लगाउने व्यक्ति नै मेखबहादुर भएको अनुसन्धानमा देखिन्छ । काठमाडौंबाट खाग लिन गाडी लिएर मेखबहादुर नै चितवन आएको खुलेको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने ।

खाग किन्न चितवन आए पनि खाग पाएपछि आफूहरू प्रहरीको व्यक्ति भएको भन्दै पैसा नै नतिरी उनले खाग लगेको अनुसन्धानमा खुलेको बरालले बताए । मेखबहादुरलाई चितवन निकुञ्जले शनिबार फेरि समातेको छ । उनी गैंडा मारेको अर्को घटनामा पनि संलग्न भएको आधार देखिएको हुँदा गिरफ्तार गरिएको अधिकारीले बताए । अनुसन्धान गर्न नवलपुर जिल्ला अदालतले निकुञ्जलाई आइतबार १० दिनको म्याद दिएको छ । गैंडा मारेमा, यसको अंगको कारोबार वा ओसारपसार गरेमा १० लाखसम्म जरिवाना वा १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web