काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज अपरान्ह ५ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक आह्वान भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
बैठकमा कार्यदलले आइतबार तयार गरेको १० बुँदे सहमति अनुमोदन हुने पूर्वमन्त्रीसमेत रहनुभएका नेता तामाङले बताउनुभयो । त्यस्तै, आज आएको सर्वोच्चले गरेको परमादेश बारेमा पनि बैठकमा समीक्षा हुने उहाँले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको फैसला अप्रत्याशित भए पनि एमाले न्यायालयको सम्मान गर्ने पार्टी भएको चर्चा गर्नुहुँदै नेता तामाङले भन्नुभयो, “अदालतका हरेक फैसला र निर्णय सही र सत्य नहुन सक्छन्, त्यसैले त अदालतका विभिन्न तहको विकल्प राखिएको छ ।” अदालतको फैसलाले प्रतिक्रियावादीहरु सल्बलाउन खोजे पनि एमाले हरेक मोर्चामा भिड्न सक्षम रहेको उहाँले प्रतिक्रिया दिनुभयो ।
आजको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुको पनि सहभागिता रहने उहाँले विश्वास व्यक्त गर्नुभयो । एमालेको बैठकमा अनुपस्थित रहने नेताहरु एमाले हुन नसक्ने भन्नुहुँदै पार्टी कार्यालय सचिव तामाङले भन्नुभयो, “एमालेका सबै स्थायी कमिटी सदस्यहरुलाई खबर गरिएको छ, पार्टीको जिम्मेवारी बोध गर्नुहुने सबै नेताहरुको बैठकमा उपस्थिति रहनेछ ।”
अदालतको फैसलाले राजनीतिमा एक किसिमको तरङ्ग ल्याइदिएकाले अवको राजनीतिक कोर्स र अगाडिको बाटोका बारेमा पनि बैठकमा छलफल हुने नेता तामाङले जानकारी दिनुभयो । एमाले कार्यदलले पार्टी एकतालाई सुदृढ गर्नेगरी आइतबार १० बुँदे सहमति गरेको थियो
17.12¡ÆC