काठमाडौ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले नेपालाई जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप उपलब्ध गराउने आधिकारिक घोषणा गरेको छ । यसअन्तर्गत जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार आठ सय ५० डोज खोप नेपालमा आउनेछ ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले शुक्रबार नेपाललाई अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएका छन् । नेपाल सरकारका अधिकारीहरूका अनुसार उक्त खोप सोमबार नेपाल आइपुग्नेछ ।
त्यसैबीच चीनबाट खरिद गरिएकोमध्ये आठ लाख डोज खोप शुक्रबार नेपाल आएको छ । एकपटकमा १० लाख डोज खोप ल्याउने तयारी भए पनि जहाजमा ठाउँ नपुग्दा आठ लाख मात्र ल्याउन सकिएको हो । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन गएको थियो । सरकारले चीनसँग ४० लाख भेरोसेल खोप किन्ने सम्झौता गरेको छ ।
अमेरिकाबाट आउने १४ र चीनबाट खरिद गरिएका ४० लाख डोज खोपले थप ३५ लाख नागरिकलाई खोप लगाउन सकिनेछ । जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा लगाए पुग्छ भने भेरोसेल दुई मात्रा लगाउनुपर्छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप अनुदान सहयोगअन्तर्गत पाउनेछ । यसअघि कोभ्याक्सले तीन लाख ४८ हजार कोभिसिल्ड खोप उपलब्ध गराएको थियो ।
18.12¡ÆC