एजेन्सी । नेपालले कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनको काेभिड–१९ कोरोना भाइरसविरुद्धको खोप पाउने विषय अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालले जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप पाउने विषय लगभग टुङ्गोमा पुगेको हो ।
‘ठ्याक्कै सङ्ख्या र मिति टुङ्गो लागेको छैन तर कोभ्याक्स सुविधा अन्तर्गत जोनसन एन्ड जोनसन कम्पनीको खोप चाँडै आउने सम्भावना छ’, मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले भन्नुभयो ।
कोभ्याक्स सुविधा अन्तर्गत नेपालले कुल जनसङ्ख्याको २० प्रतिशत अर्थात् ६० लाख जनालाई पुग्ने खोप पाउनुपर्ने माग गर्दै आएको छ । तर यो सुविधा अन्तर्गत अहिलेसम्म जम्मा तीन लाख ४८ हजार डोज मात्रै नेपालले पाएको छ । थप खोप उपलब्ध गराउन नेपालले विभिन्न अन्तर्राष्ट्रिय निकायसँग आग्रह गरिरहेको छ ।
यो खोप आउने सम्भावना बढेपछि मन्त्रालयले जोनसन एन्ड जोनसन कम्पनीको खोपलाई अनुमति प्रदान गर्न औषधि व्यवस्था विभागलाई पत्राचार पनि गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले यो खोपलाई अनुमति दिएकाले औषधि व्यवस्था विभागले धेरै प्रक्रिया पूरा गर्नु नपर्ने पनि प्रवक्ता पौडेलले बताउनुभयो ।
18.12¡ÆC