विदुर । नुवाकोटको एक महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको प्रहरीले दाबी गरेको छ । उनले नेपाली महिलालाई भारतमा लगेर वेश्यावृत्तिमा लगाउने गरेको दाबी गर्दै कारबाहीको लागी प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने र मानव बेचबिखन अपराधमा संलग्न रहेर फरार रहेको भन्दै नुवाकोटको साविक गाउँखर्क गाविस वडा नं. ९ हाल दुप्चेश्वर गाउँपालिका वडा नंंं. २ का ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेको छ । उनको बोलाउने नाम चमेली र नागरिकतामा रुकमाया भएपनि आफूलाई सीता तामाङको पहिचान दिएर मानव बेचबिखनमा लाग्दै आएको प्रहरको दाबी रहेको छ । ती महिलाले भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेको र त्यहाँ वेश्वाबृत्तिमा लगाउन नेपाली चेलीहरु लैजाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान र पीडितले दिएको उजुरीले देखाएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नुवाकोट प्रहरीको सहयोगमा चमेलीलाई केही दिन अघि नुवाकोटको विदुरबाट पक्राउ गरी काठमाडौ लगेर अनुसन्धान सुरु गरेको ब्युरोका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभएको छ । उनी विरुद्ध अहिले काठमाडौँ जिल्ला अदालतबाट ‘मानव बेचबिखन तथा ओसार–पसार कसुर’मा सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

चमेलीले पठाएका अन्य दलालले पीडित महिलालाई चितवनमा आफन्तको घरमा काम लगाइदिन्छु भन्ने बहाना बनाई काठमाडौँबाट भारतको कोठी पुराएको अनुसन्धानमा खुलेको छ । भारतसम्म नेपाली चेली पुराउन उनको गिरोहले नाका कटाउनको लागी बेहोस हुने औषधि खुवाउने, विवाहको नाटक गर्ने, रोजगारको लागी जान लागेको भन्ने तथा आफन्त भेट्न जान लागेको लगायतका झुठा विवरण सिकाउने गरेको पाइएको छ ।

भारतमा पुराएपछि चेलीहरुलाई बन्धक बनाई जबर्जस्ती यौन पेशामा लगाउने, बालिकाहरुलाई शरिर र यौन उन्माद बढाउने औषधी खुवाउने लगायत अपराध गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

भारतमा पुराएर नेपाल फर्किएका पीडितले दिएको जाहेरीका आधारमा उनलाई नेपाल स्थित घर नुवाकोट आएको समयमा बनाई प्रहरीले पक्राउ हो ।

26.88¡ÆC