टिमुरे । चीनमा फैलिएको कोरोना भाइरस सर्न नदिन रसुवागढी नाकामा उच्च सतर्कता अपनाइएको छ ।

रसुवागढी नाकाहुदै आउने पर्यटक तथा व्यवसायीबाट कोरोना भाइरस सर्न नदिन जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले रसुवागढीमा रहेको ‘हेल्थ डेस्क’लाई उच्च स्रोत साधनयुक्त बनाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले जानकारी दिनुभयो । सीमा क्षेत्रमा सचेतना कार्यक्रम गर्ने, रोगको लक्षण देखिएमा जिल्ला अस्पतालमा छुट्टै उपचार सघन–कक्ष तयार बनाउने, परीक्षणका आधुनिक उपकरण तत्काल व्यवस्था गर्ने लगायतको तयारी गरिएको छ ।

रोग नियन्त्रणका लागि कार्ययोजना बनाउन गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल सापकोटाको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराई, जनस्वास्थ्य अधिकृत सृष्टि नेपाल र जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर अनिल खरेल रहेको उपसमिति गठन गरिएको छ ।

सीमा क्षेत्रका चिनियाँ अधिकारीले रसुवागढी केरूङ सीमा क्षेत्रको आवत–जावतमा कडाई गरेको जनाएको छ । रोगको भाइरसको नियन्त्रको समस्या एवं चिनियाँ भू–भागको राजमार्ग मर्मत र ल्होछार पर्व समेतको कारण देखाएर १५ दिनका लागि केरूङको आवत–जावतमा कडाई गरेको जानकारी नेपाली पक्षलाई गराएको छ ।

राजमार्ग सुधारका क्रममा हुनसक्ने जोखिम न्यूनीकरण गर्न १५ दिनका लागि कुनै पनि सवारी साधन नगुढाउने र मानिस ओहरदोहरमा रोक लगाउने सीमा क्षेत्रका चिनियाँ अधिकारीले जानकारी पठाएको सुरक्षा निकायले बताएको छ ।

26.41¡ÆC