काठमाडौ । “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ ।

“अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन । ” झोले पर्यटन (ब्यागप्याकिङ) मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक किसिमका पर्यटकीय अनुभव गर्न सकिने भन्दै फोब्र्सले नेपालको पर्यटनको विस्तारित रूप प्रस्तुत गरेको हो । नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको फोब्र्सले यहाँको छिनमै बदलिने मौसमको वर्णन मात्र गरेको छैन, आगामी दशकको सुरुआत (सन् २०२०)मा घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाल समावेश गरेको छ, त्यो पनि पहिलो स्थानमा ।

फोब्र्सले नयाँ दशकका लागि घुम्नुपर्ने देशका रूपमा तयार गरेको ‘बकेट लिस्ट’मा नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको हो । ‘एडभेन्चर’देखि गुणस्तरीय पर्यटनसँग सम्बन्धित रहेर विश्वका विभिन्न छ वटा महादेशमध्येबाट फोब्र्सले १० वटा देश यो सूचीमा राखेको जनाएको छ ।

सूचीमा पहिलो स्थानमा रहेको नेपालबारे रोचक प्रसङ्ग र अनुभव पनि फोब्र्सले प्रस्तुत गरेको छ । विश्वकै चर्चित ‘एडभेन्चर’ गन्तव्य सगरमाथा भएको देशमात्र होइन, अत्यन्त ‘लक्जरी’ रिसोर्टसमेत भएको स्थानका रूपमा फोब्र्सले नेपाल चिनाएको छ । काठमाडौँको द्वारिकाज होटलको उदाहरण दिँदै फोब्र्सले यसलाई जीवन्त सङ्ग्रहालयको उपमा पनि दिएको छ । त्यस्तै चितवन र बर्दियाको सफारी क्याम्पजस्ता अद्भुत अनुभव नेपालमा लिनसक्ने जनाइएको छ ।

न्युयोर्क राज्य बराबरको क्षेत्रफल भएको देशमा पनि फरक किसिमको भौगोलिक विविधताको अनुभव गर्न सकिने फोब्र्सले उल्लेख गरेको छ । नेपाल घुम्ने उपायबारे थप सुझाव पनि फोब्र्सले दिएको छ । फोब्र्सका अनुसार नेपाल भ्रमण दक्षिणतर्फबाट जङ्गल सफारी गरेर सुरु गर्दा गज्जबको अनुभूति हुने छ । हात्तीसँग हिँड्दै चितवनका जङ्गल घुम्न र नारायणी नदीमा हात्तीले नुहाएको हेर्न पनि फोब्र्सले सुझाव दिएको छ ।

यसबाहेक फोब्र्सले छिनमै बदलिने मौसम अनुभव गर्दै हिमाली क्षेत्रतर्फको टेकिङलाई पनि महवका साथ गर्नैपर्ने गतिविधिका रूपमा उल्लेख गरेको छ । गाइडसँगै क्याम्पिङ अनुभवका लागि निस्कँदा कोलाहलबाट मुक्तिको अनुभव पाइने पनि फोब्र्सले उल्लेख गरेको छ । त्यस्तै योग र ध्यानका लागि पर्याप्त स्थानहरूको विवरण पनि फोब्र्सले प्रस्तुत गरेको छ । “विश्वमा योगध्यान प्रचलनमा आउनुभन्दा अघि नै नेपालबाट यसको सुरुआत भएको हो”, फोब्र्सले उल्लेख गरेको छ ।

यसबाहेक अझ उच्चस्तरको अनुभवका लागि सगरमाथाको काखमा ‘बे्रकफास्ट’लाई पनि पर्यटकीय गतिविधिका रूपमा फोब्र्सले उल्लेख गरेको छ । हेलिकप्टर लिएर १८ हजार फिटमाथि गई आफ्नो अनुकूलतामा रमाइलो गर्न पाउने क्षणलाई खर्चभन्दा अनुभवका रूपमा लिन फोब्र्सले सुझाएको छ ।

फोब्र्सको यो सूचीमा नेपालपछि दक्षिण अमेरिकी मुलुक इक्वेडर छ । त्यसपछि क्रमशः न्युजिल्यान्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्यान्ड, केन्या परेका छन् ।

17.98¡ÆC