काठमाडौ । सरकारले असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटोले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्णयहरु सार्वजनिक गरेका हुन् ।

सरकारले झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएका भारतीय नागरिकका नाममा जारी नेपाली नागरिकता रद्द गर्ने र ती कार्यमा संलग्न व्यक्तिहरूलाई कानूनबमोजिम कारबाही गर्ने निर्णय गरेको छ । सप्तरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने भारतीय नागरिक जीवन कुमार सिंह, धनुषा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने भारतीय नागरिकद्वय धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुरलाई सरकारले कारबाही गर्ने भएको हो । त्यस्तै रौतहट जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने भारतीय नागरिकद्वय जमुना राउत भनिने यमुना सिंह र कृपाली राउत भनिने कृपाली सिंह रहेका छन् ।

सवारी तथा यातायत व्यवस्था ऐन, ०४९ खारेज गरी संघीय सवारी तथा यातायत व्यवस्थासम्बन्धी विधेयक, ०७६ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिएको छ ।

यस्तै बैठकले पाँचजना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने निर्णय गरेको बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

पाल्पा बसपार्क निमार्णका लागि जिल्लाको तानसेन नगरपालिका- ५ मा पर्ने मिलिजुली पालोको रमाइलो सामुदायिक वनको ४.९९ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गाप्रयोग गर्न र त्यहाँ रहेका १२९१ वटा रूख विरूवा हटाउन बैठकले स्वीकृति दिएको छ ।

“मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ स्थित श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको नाममा दर्ता श्रेस्ताकायम रहेको जम्मा क्षेत्रफल १७९ रोपनी १२ आना २ पैसा जग्गा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरिएको छ,” पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, “झिमरक गाउँपालिका प्युठानको केन्द्र भ्यागुते कायम गर्न र रूरू गाउँपालिका, गुल्मीको नाम रूरूक्षेत्र गाउँपालिका तथा केन्द्र घ्यूवेंशी कायम गर्न स्वीकृति प्रदान गरिएको छ ।”

संघको पदमा समायोजन भएका नेपाल वन सेवाका राजपत्रांकित प्रथम श्रेणीका प्राविधिक कर्मचारीहरूमध्ये सातजनालाई प्रदेश सचिव पदमा पदस्थापना गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी बैठकले फाजिल रहेका विविध सेवा रा.प. तृतीय श्रेणीका ६० जना अधिकृतलाई प्रदेश र स्थानीयतहमा रिक्त रहेका मिल्दो पदमा समायोजन गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

“सार्वजनिक लेखा समितिका सभापति माननीय भरतकुमार शाहको नेतृत्वमा सात सदस्यीय भ्रमण टोलीलाई रियाद, बर्लिन, पेरिस र लन्डनस्थित नेपाली नियोगहरूको स्थलगत अनुगमन गर्न सैद्दान्तिक सहमति दिइएको छ,” पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बताए ।

मन्त्रिपरिषद् बैठकले नयाँ र थप कार्यक्रम सञ्चालन गर्न नेपाल इन्जिनियरिङ्ग परिषद् नियमावली, ०५७ को नियम १५ बमोजिम नेपाल सरकारबाट लिनुपर्ने स्वीकृति अध्ययन, अध्यापन प्रारम्भ गर्नुपूर्व नै लिई सक्नुपर्ने व्यवस्थाको पूर्ण पालना गर्न-गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इन्जिनियरिङ् परिषद्लाई जानकारी गराउने निर्णय गरेको छ ।

19.74¡ÆC