काठमाडौ । समुद्री आँधी ‘फानी’ को असर नेपालसम्म पर्ने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । तर, फानी नै नेपाल आउने सम्भावना भने कम छ ।

बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रबार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने र त्यसको प्रभाव नेपालसम्म पर्ने मौसमविद्हरुको अनुमान छ । प्रभावस्वरुप वर्षा तथा हावाहुरी चले पनि समुद्री आँधी फानी नेपालसम्मै आउने सम्भावना तत्काल देखिएकाे छैन ।

‘चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार ) मौसम प्रभावित भई पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन/चट्टयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै लेखेको छ ।

फानीको प्रभाव देशको हिमाली भेगमा पनि पर्ने लख महाशाखाले काटेको छ । महाशाखाका अनुसार, यसकाे असरले हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ ।

देशको पश्चिम क्षेत्रका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।

शुक्रबार र शनिबार मौसम प्रभावित बने पनि आइतबारबाट भने मौसममा सुधार आउने मौसमविदहरुले जनाएका छन् ।

फानी समुद्री आँधी हो । यसको प्रणाली समुद्री क्षेत्रमा विकसित हुने गर्छ । यसपटक बंगालको ओडिसा तटीय क्षेत्रमा यसको विकास भएको बताइएको छ । जसको प्रभाव भारतको ओडिसालगायत क्षेत्रमा परेकाे छ । शुक्रबार ल्यान्डफल पश्चात यो प्रणाली उत्तर–पूर्व दिशातर्फ जाने र त्यसक्रममा कमजोर बन्ने भनाइ मौसमविद्हरुकाे छ ।

25.42¡ÆC