झापा । सरकारले तोकेको न्युनतम ज्याला नपाएको भन्दै आन्दोलनमा उत्रिएका चिया मजदुरले आइतबार झापाको विर्तामोडमा चिया उद्योगीको पुत्ला दहन गरेका छन् ।

विगत २८ दिनदेखि आन्दोलनमा रहेका नेपाल चिया बगान श्रमिक संघ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघमा आवद्ध मजदुरले उद्योगीविरुद्ध चर्को नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् ।

सरकारले राजपत्रमै प्रकाशित गरी चिया मजदुरको न्यूनतम ज्याला तोके पनि उद्योगीले सो अनुसारको ज्याला नदिएपछि पूर्वका चिया मजदुर चैत १७ गतेबाट चरणबद्ध आन्दोलनमा छन् ।

सरकारले १ साउन ०७५ देखि लागू हुने गरी बगानमा काम गर्ने श्रमिकको ज्याला दैनिक ३५० रुपैयाँ तोकेको थियो । उद्योगमा काम गर्ने श्रमिकलाई ४२ थपेर ४ सय २७ रुपैयाँ तोके पनि त्यो कार्यान्वयनमा ल्याउन चिया उद्योगी नमानेपछि बाध्य भएर मजदुरले उद्योगीको पुत्ला दहन गरेको बताएका छन् । आन्दोलनमा झापा र इलामका मजदुर सहभागी छन् ।

24.88¡ÆC