
काठमाडौं
। एउटी आमा १७ वर्षीय निर्दोष छोराको हत्यारालाई कारवाही होस् भन्ने माग
राखी पाँचवर्ष देखि सत्याग्रहमा छिन् । गोरखा फुजेलका दम्पति नन्दप्रसाद
अधिकारी र गंगामायाका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन
माओवादीले २०६१ जेठ २४ गते चितवनमा गोली हानी हत्या गरेका थिए । आफ्नो
छोराको हत्यारालाई सजायको माग गरी शुरुमा अधिकारी दम्पति दुबै आमरण अनसनमा
बसे ।
अनसनसहितको सत्याग्रहमा बसेको अवस्थाबाटै गिरफ्तार गरी
अधिकारी दम्पतिलाई विभिन्न अभियोग लगाएर कहिले केन्द्रीय जेल त कहिले अन्य
जेल गरी पटकपटक जेलमा राखे । जेठा छोरा नुरप्रसाद अधिकारीलाई पनि कहिले
गोरखामा कहिले काठमाडौंमा जेल हाले । कहिले दुःख दिने, कहिले मानसिक रोगी
बनाउने, कहिले लोभप्रलोभन जस्ता विभिन्न खालको चलखेल भए । अन्य स्वार्थमा
नभएर आफ्नो छोराको हत्या भएकोमा दोषीउपर कारवाही होस् र यसरी आउँदा दिनमा
कसैका पनि छोराहरूमर्न नपरोस् भन्ने आफ्नो माग भएकोले कुनै सर्त नमानेको
गंगामाया बताउँछिन् ।
अनसनसहतिको सत्याग्रहको ३३४ औं दिन २०७१
असोज ६ गते वीर अस्पतालमा नन्दप्रसादको मृत्यु भयो । नन्दप्रसादको लास
अहिले पनि शिक्षण अस्पतालमा रहेको छ । भाइको हत्यारालाई सजाय नभएसम्म
अधिकारीका जेठा छोराले आफ्नो बाबुको लास नबुझ्ने अडान लिएको बताइन्छ ।
श्रीमान्को मृत्युपछि पनि गंगामायाले आफ्नो न्यायिक मागलाई यथावत राख्दै
सत्याग्रहलाई निरन्तरता दिँदै आएकी छन् । उनलाई राज्यप्रशासनले उठाएर वीर
हस्पिटलको क्याविन ७ मा राखेको छ ।
तपाईको खास माग के हो ? उनको
बारेमा बुझ्न पुगेको सञ्चारकर्मीसँग गंगामायाले भनिन् ‘मेरो माग भनेको त
छोराको हत्यारालाई सजाय भई देशमा न्यायिक राज्य छ भन्ने कुराको सबै
नागरिकलाई प्रत्याभूति होस् भन्ने हो । तर यो अपराधि राजनीतिक क्षेत्रले
अदालतले गरेको फैसलालाई पनि कार्यान्वयन हुन दिएन, अब मलाई कि न्याय देऊ कि
मृत्यु देऊ भन्ने हो’ । पहिला न्याय नपाए गोरखा जानु भनिन्थ्यो तर यतिबेला
गोरखाकै गंगामायाले न्याय नपाएर वीर अस्पतालको क्याबिनमा मृत्यु कुर्न
बाध्य भइरहेकी छन् ।
मानव अधिकारको कुरा गर्नेहरू पनि असली रूपमा
मानव अधिकारवादी नभएर मानुवादी हैछन्, मानवअधिकार क्षेत्रप्रति गंगामायाले
असन्तुष्टि पोखिन् । अपराधी तथा दोषीलाई कार्वाहीको कठघरामा उभ्याउन
राज्यसत्तालाई पर्याप्त दबाब दिन नसक्ने, अप्रत्यक्ष रूपमा विभिन्न मिसन
तथा विस्तारवादीको एजेण्डा बोकेर हिँड्ने र प्रत्यक्ष रूपमा मानव अधिकारको
वकालत गर्नेहरूबाट आफ्नो छोराको हत्या र श्रीमान्को लासमाथि भइरहेको
राजनीति तथा चलखेलप्रति उनको असन्तुष्टि देखिन्छ ।
अधिकारी
दम्पतिका छोरा कृष्ण गोरखाबाट बकुलनहर बकुल्ला टाँडी चितवनमा रहेका आफ्ना
हजुरबुबा हजुरआमालाई भेट्न गएको बेलामा माओवादीका छविलाल पौडेल र जानुका
पौडेलको आदेशमा परशुराम पौडेल र भीष्मराज पौडेलले अपहरण गरी रुद्र आचार्य,
मदन पौडेल र ऋषिराम लामिछानेले गोली हानी अत्यन्तै क्रुरतापूर्वक हत्या
गरेको अदालति कारवाहीको क्रममा प्रमाणित भइसकेको गंगामाया बताउँछिन् ।
अदालतबाट
हत्याको मुख्य योजनाकार छविलाल पौडेललगायतलाई दोषी ठहर्याई कार्वाहिको
लागि सिफारिस गरेको भएपनि उनीहरुलाई सत्ताको दुरूपयोग गर्दै डा. बाबुराम
भट्टराई लगायतका माओवादी नेताहरुले संरक्षण गर्दै सजाय हुनबाट रोकिरहेका
छन् । दोषी ठहर्याएका मदन पौडेल र ऋषिराम लामिछानेको मृत्यु भइसकेको भनिएको
छ । रुद्र आचार्य फरार छ, विदेशमा लुकि बसेको छ भन्ने सुनिन्छ, सरकारले
विदेशबाट झिकाउन पहल गरेको छैन, गंगामायाले बताइन ।
दोषीहरू अहिले
पनि समाजमा छाति खुला गरी सानसँग हिँडीरहेका छन् । गंगामाया अस्पतालको
बेडमा छट्पटाइरहेकी छन् । लाचार राज्य संयन्त्र मुक दर्शक भएर हेरिहेको छ ।
गंगामायाले यो केशलाई लिएर अन्तर्राष्ट्रिय अदालत गुहारिन भने नेपालको
कानूनी पद्धति कस्तो रैछ भन्ने सन्देश विश्वव्यापि रूपमा जान्छ ? राज्य,
सम्बद्ध व्यक्ति तथा निकायले सोँच्नुपर्छ कि पर्दैन ? प्रश्न खडा भएको छ ।
सन्तानको
मृत्यु कसलाई प्रिय हुन्छ ? त्यो पनि कालगतिले नभई हत्याबाट । के देशको
राज्यसँग अदालतले दोषी ठहर्याएको अपराधीलाई कारवाही गर्ने क्षमता छैन ?
दोषीले सजाय पाउँदैनन् भने त्यो कसरी राज्य हुनसक्छ ? सन्तानको हत्याको
पीडाले टड्पिएकी एउटी आमाले श्राप दिइन भने त्यो यससँग सम्बन्धित स्थानमा
रहेका सबैलाई लाग्नेछ । सतिले सरापेको भनेर भनिने यो मुलकलाई के अब
गंगामायाले पनि श्राप दिन बाध्य पार्ने हो ? सबैले आआफ्नो स्थानबाट सोँच्नु
पर्ने देखिन्छ ।