काठमाडौं । मुख्यमन्त्रीका आकांक्षी नेताहरू संसदीय दलको नेता बन्ने दौडमा लागेका छन् । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ । संसदीय दलको बैठकमार्फत दलको नेता चुनिने भएकाले मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सक्रिय हुन थालेका छन् । एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डेले गुट परिवर्तन गरी प्रदेश तीनको मुख्यमन्त्री बन्ने दौडमा लागेका छन्। यसअघि झलनाथ खनाल—मावधकुमार नेपाल निकट रहेका उनले अध्यक्ष केपी शर्मा ओली गुटबाट मुख्यमन्त्री दावी गरिरहेका हुन्।

धादिङ—१ क बाट प्रदेश सभामा निर्वाचित पाण्डेले प्रदेशसभा सांसदहरुलाई फोन गर्दै अध्यक्ष केपी शर्मा ओलीको समर्थन आफूलाई रहेको भन्दै सहयोगका लागि आग्रह गरिरहेका छन्। ‘प्रदेश तीनमा कूल ११० सांसद छन्। सरकार निर्माणका लागि ५६ सांसद भए पुग्छ। यो प्रदेशबाट एमालेले ५८ सिट जितेको छ। प्रदेश मुख्यमन्त्रीको प्रत्यासी चयन एमाले प्रदेश तीन संसदीय दलले गर्नेछ। संसदीय दलको नेता चुनिन पाण्डेलाई कम्तिमा ३५ सांसदको समर्थन आवश्यक पर्छ। उनी आफूसँग कम्तिमा ३८ सांसद रहेको दाबी गरिरहेका छन्।

प्रतिनिधि सभा एवं प्रदेश सभा चुनाबको करिब एक महिना अगाडि एमाले प्रदेश कमिटी बैठकले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रदेश तीनको मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। त्यो निर्णयमा पशुपति चौलगाईँ, राजेन्द्र पाण्डे, अरुण नेपालले समेत हस्ताक्षर गरेको एक एमाले नेताले बताए।

पाण्डे लामो समयदेखि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट रहँदै आएका थिए। नवौं महाधिवेशनमा शाक्य र पाण्डे दुवैले माधवकुमार नेपाल पक्षबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। शाक्यले चुनाव जितेकी थिइन्। पाण्डे उपाध्यक्षमा पराजित भएका थिए।

२०४८, २०५१ र २०५६ सालमा धादिङ–३ बाट प्रतिनिधिसभा चुनाव जितेका पाण्डे २०६४ सालमा पराजित भएका थिए। २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा पाण्डेले फेरि चुनाव जितेका थिए। गत मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उनी प्रदेश सभामा उठेका थिए।

प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीमा बहुमत नभएको कारण पाण्डेको नाम प्रतिनिधि सभामा सिफारिस भएर आएन। अर्कोतरि नयाँ क्षेत्र निर्धारण हुँदा धादिङ जिल्ला दुई क्षेत्रमा खुम्चिन पुग्यो। जसले गर्दा पाण्डेले सधँै लड्दै आएको क्षेत्रमा भूमि त्रिपाठीको नाम सिफारिस भयो। उनी धादिङ—१ बाट प्रदेश सभामा प्रत्यासी बने।

यी हुन् मुख्यमन्त्रीका आकांक्षी

प्रदेश १ मा एमाले सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्यमन्त्रीका मुख्य दाबेदार हुन् । आचार्य पार्टीको प्रदेश संयोजक र राई सहसंयोजक हुन् । यीबाहेक पार्टी केन्द्रीय सदस्य तथा अखिलका पूर्वअध्यक्षहरू हिक्मत कार्की र राजेन्द्र राई चर्चामा रहे पनि उनीहरूको दाबी सशक्त छैन ।

प्रदेश २ मा संघीय समाजवादी फोरमका विजय यादव, लालबाबु रावत र शैलेन्द्र साह, राजपाबाट जितेन्द्र सोनल र मनीष सुमन दाबेदार छन् ।

प्रदेश ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौलागाईं र राजेन्द्रप्रसाद पाण्डे मुख्य दाबेदार छन् । वैकल्पिक पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ तथा काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापित पनि आकांक्षी छन् ।

प्रदेश ४ मा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ दाबेदार छन् ।

प्रदेश ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल मुख्यमन्त्रीको एक मात्र दाबेदारका रूपमा प्रदेश सभा संसदीय दलको नेतासमेत चयन भइसकेका छन् ।

प्रदेश ६ मा माओवादीका पोलिटब्युरो सदस्यद्वय महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी छन्।

प्रदेश नम्बर ७ मा माओवादी नेताद्वय वीरमान चौधरी र झपट बोहरा आकांक्षी छन् ।

19.12¡ÆC