पौषे औशीमा उत्तरगयाधाममा श्राद्ध

नुवाकोट ।
पौषे औशीको अवशरमा आज नुवाकोट र रसुवाको सीमा क्षेत्र उत्तरगयाधाममा दिवंगत व्यक्तिको नाममा श्राद्ध गर्नेको घुइँचो लागेको छ ।

त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल उत्तरगयामा दिवंगत पितृहरूको शान्तिको कामना गर्दै तर्पण तथा पिण्ड दान गरिएको हो ।

उत्तरगयाधाममा यस वर्ष करिव दशहजार भक्तजनले श्राद्ध गरेको उत्तरगया विकास समितिले जनाएको छ ।

यस धाममा नुवाकोट र रसुवाका अतिरिक्त काठमाण्डौ, धादिङ, गोरखा लगायत जिल्लाका हिन्दु धर्मावलम्बीले पौष कृष्ण औशिको दिन श्राद्ध गर्ने गरेका छन् ।

उत्तरगयाधाममा पिण्ड तर्पण गर्नाले दिवंगत व्यक्तिको आत्माले मोक्ष पाउने जनविश्वास रहेको छ । हिन्दु धर्मका विभिन्न ग्रन्थ अनुसार कालकूट विष पिई त्यसको राप शान्त पार्न भौतारिएर हिँडेका महादेवले त्रिशुल प्रहार गर्दा उत्पन्न भएको त्रिशुली नदी र महादेवले बेतको लौरी खोप्दा उत्पत्ति भएको बेत्रगंगास्थित फलाँखु खोलाको संगमस्थल समेत भएकोले पवित्र भूमिको रूपमा उत्तरगया परिचित रहेको छ ।

परापूर्वकालदेखि नै नेपालसहित भारतबाट समेत भक्तजनहरु वेत्रावतीमा श्राद्ध गर्ने आउने गरेको पण्डित एवं नुवाकोट हिन्दु कर्मकाण्ड संस्थाका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

TOP