चितवन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ चितवन शाखाले आज गरेको ‘चितवनबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रम’ मा अध्यक्ष प्रचण्डले कांग्रेस, एमाले, माओवादी लगायत दलहरुबीच सहमति भएर संविधान बनेको र यही संविधानको मर्म र भावना अनुसार नै देशलाई नेतृत्व दिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले वामपन्थीले जितेपछि अर्कै केही हुन्छ भन्ने प्रचार गलत भएको बताउनुभयो ।

उहाँले नेपाली जनताको आशा र अपेक्षा अनुसार वामपन्थीको सरकारले राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर देशलाई डोर्याउने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले निर्वाचनमा जनताले वाम गठबन्धनप्रति देखाएको समर्थन गठबन्धनका नेताको लागि ठूलो जिम्मेवारी भएको र जनताले सुम्पेको त्यो जिम्मेवारी गम्भीरताका साथ आत्मसात् गर्ने र जनअपेक्षाअनुसार आफूहरुलाई अग्निपरीक्षामा खरो उतार्ने बताउनुभयो ।

19.12¡ÆC