बीरगञ्ज ।

राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरेका वीरगञ्जका ९ जनाविरुद्ध १९ करोड रुपैयाँको बिगो र कैद सजाँयको माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

विभागले नक्कली भ्याट बिलको कारोबार गर्ने वीरगञ्जका केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्दा नक्कली भ्याट बिल प्रयोग गरेको पाएकोले उनीहरुविरुद्ध जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गरेको विभागका महानिर्देशक भूपाल बरालले जानकारी दिनुभयो ।

वीरगञ्जका कालिका ट्रेड एन्ड एप्लायर्स, आदित्य ट्रेड एन्ड सप्लायर्स र विश्वकर्मा ट्रेड कन्सर्न मार्फत् सामान किनेको झुटो भ्याट बिल पेस गरेको विभागको ठहर छ ।

त्यसबाट सरकारसँग भ्याट ‘क्रेडिट’ दाबी गर्ने तथा विभिन्न र्फमलाई नक्कली भ्याट बिक्री विजक जारी गर्ने काममा संलग्न उनीहरुविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

प्रदीपकुमार बर्मा, दीपककुमार बर्मा, गणेश रिजाल, अनिल महतो धानुक, गुल्सन श्रीवास्तव, दशरथ हजरा दुसाद, उपेन्द्र महतो, राजेशकुमार श्रीवास्तव र सिकेन्द्रकुमार श्रीवास्तवविरुद्ध मुद्दा दायर गरिएको हो ।

उनीहरुविरुद्ध विभागले ९ करोड ९१ लाख ४६ हजार रुपैयाँ बिगोसहित त्यसको दोब्बर १९ करोड ८३ लाख ७२ हजार रुपैयाँ जरीवाना दाबी गर्दै मुद्दा चलाइएको हो ।

प्रतिवादीहरूले वस्तुको कारोबार नै नगरी बिलविजक जारी गरेर सरकारसँग भ्याट क्रेडिट दाबी गरेका थिए । ती फर्मका बिलविजक स्वीकार गर्ने थप २९ फर्ममाथि पनि अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

राजश्व चुहावट ऐन, २०५२ अन्तर्गत विगत ८ वर्षयता दायर भएको यो सम्भवतः सबैभन्दा ठूलो मुद्दा भएको विभागले जनाएको छ ।

18.7¡ÆC