रुपन्देही ।

प्रादेशिक राजधानीको चर्चामा रहेको बुटवल उपमहानगरपालिकामा एमालेका शिवराज सुवेदी प्रमुखमा निर्वाचित भएका छन् । कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र नं ४ मा पर्ने बुटवल उपमहानगरमा प्रमुख, उपप्रमुख र १६ वटा वडाहरुमा समेत एमालेले जितेको छ। कांग्रेसले ३ वटा वडामा चित्त बुझायो। प्रमुख पदमा विजयी एमाले उम्मेदवार सुवेदीले २३ हजार २ सय ४९ मत ल्याए। उपप्रमुखकी उम्मेदवार गोमादेवी आचार्यले २५ हजार ३ सय १ मत ल्याइन्।

निकटतम प्रतिद्वन्द्वी कांग्रेस–माओवादी गठबन्धनका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले २० हजार ८ सय ५१ मत ल्याएका छन्। उपप्रमुख पदका उम्मेदवार जगत बहादुर पोखरेलले १४ हजार ७ सय ९२ मत ल्याएका छन्। बुटवललाई सुन्दर बनाउने योजना प्रमुखमा निर्वाचित एमाले उम्मेदवार शिवराज सुवेदीले बुटवललाई सुन्दर शहर बनाउने बताएका छन् ।

जित हात पारेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने,‘हामी बुटवलको विकासका लागि कटिबद्ध भएर लाग्नेछौं।’ प्रतिस्पर्धीले विजयीहरुलाई लगाइदिए अबीर र माला बुटवल उपमहानगरमा प्रमुख र उपप्रमुखको दौडमा रहेका कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारले विजयी भएका प्रमुख र उपप्रमुखलाई माला र अबिर लगाएर बधाई दिए।

मतपरिणाम घोषणा पछि अंकमाल गरेर उनीहरुले बुटवललाई सुन्दर शहर बनाउनका लागि आफुहरुको साथ रहने बताए । पत्रकारहरुलाई प्रतिक्रिया दिदै कांग्रेस उम्मेदवार खेलराज पाण्डेले गुण र दोषका आधारमा बुटवल उपमहानगर प्रमुख/उपप्रमुखलाई समर्थन र विरोध गर्ने बताए। उनले आफुहरु गणितीय हिसाबले पराजित भएपनि जनतामाझ रहने र बुटवलको विकासमा लागिरहने बताए ।

29.12¡ÆC