काठमाडौं,चैत १५ । दसवर्षे सशस्त्र युद्धको पीडा बेहोरेका रुकुम खाराका जनताले आफैं रकम संकलन र श्रमदान गरेर गाउँमा सडक पुर्याएका छन् । प्रतिघर कम्तिमा १० हजारदेखि ८० हजार रुपैयाँसम्म उठाई १० दिन श्रमदान गरेर उनीहरूले रुकुमको त्रिवेणी गाउँपालिका ४ खुम्चेरीबाट पोखरी जोड्ने झन्डै १४ किलोमिटर सडक खनेका हुन् ।

पोखरीगाउँको माथिल्लो टोल र तल्लो टोलका लागि छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरेर चैत सुरुबाट सडक खन्न थालेको र दस दिनमै निर्माण पूरा भएको जानकारी माथिल्लो टोलकी सडक निर्माण उपभोक्ता समिति अध्यक्ष रामकली खड्काले दिइन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

‘आफ्नो घरसम्म सडक ल्याउन धेरैपल्ट गाविस परिषद्मा कुरो उठायौं । कसैले सुनेनन्’, रामकली भन्छिन्, ‘त्यसैले आफ्नो गाउँका लागि आफैं जुट्नुपर्छ भनेर प्रत्येक घरबाट पैसा उठाई श्रमदानसमेत गरेर सडक बनायौं ।’

साबिकको वडा नं. ५ रहेको पोखरीगाउँ खाराको खुम्चेरी र कुरलको बीच डाँडामा अवस्थित छ । खुम्चेरीको लाँकुरीडाँडासम्म पुगेको सडकलाई गाउँलेले पल्लोगाउँ कुरलसँग जोडेर अगाडि बढाउने योजना बनाएका छन् । आफ्नो घरसम्म सडक आउने भएपछि खुसी बनेका स्थानीय दलबहादुर खड्काले सबैभन्दा धेरै ८० हजार रुपैयाँ सहयोग गरेका थिए ।

17.43¡ÆC