८ चैत,काठमाडौं ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्दै आएको नेकपा एमालेका नेता झलनाथ खनालका छोराको कम्पनी नेपाल इन्फ्रा प्रालिले (सब–कन्ट्रयाक्टर) निर्माणको कामबाट हात झिक्ने घोषणा गरेको छ । निर्माण कार्य पाँच दिनदेखि ठप्प भएपछि गौतम बुद्ध विमानस्थल स्तरोन्नतिको कार्यालय भैरहवामा भएको छलफलमा सप्लायर्सका रूपमा रहेको सब–कन्ट्रयाक्टर नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले निर्माणको कामबाट हात झिक्ने घोषणा गरेको हो ।

विमानस्थलको निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीच रकम लेनदेनको विवादका कारण पाँच दिनदेखि निर्माण कार्य ठप्प हुदै आएको थियो । काम ठप्पभएसँगै विमानस्थलको दाता एसियाली विकास बैंक (एडिबी) सरकारलाई काममा अवरोध गर्ने कम्पनीलाई तत्काल ‘सब-कन्ट्र्याक्टर’बाट हटाउन सरकारलाई आग्रह गर्दै पत्र काटेको थियो ।

सप्लायर्सका रूपमा रहेका सब कन्ट्रयाक्टरले छलफलमा सहभागी आयोजना कार्यालययका प्रतिनिधि मुख्य निर्माण कम्पनी, दाता एडिबी प्रतिनिधि, पर्यटन मन्त्रालय, अर्थमन्त्रालय, नागरिक उड्यन कार्यालयका प्रतिनिधि सम्मिलित छलफलमा निर्माणबाट हात झिक्ने बताएको छ ।

विमानस्थल निर्माणको जिम्मा लिएको नर्थवेष्ट सिभिल एभिएसन प्रालिले काम गरेबापतको रकम भुक्तान नदिएको दाबी नेपाली कम्पनीको छ । नेपाली कम्पनीले आफ्ना मजदुरलाई पारिश्रमिक तथा विभिन्न सामानको रकम भुक्तानीका लागि चिनियाँ कम्पनीले रकम निकासा नदिँदा समस्या परेको दाबी गर्दै आएको थियो ।

रकम अभाव भएपछि पारिश्रमिक समेत नपाउँदा कर्मचारीले आयोजनास्थलको मुख्य गेटमै ताला लगाएर आन्दोलनमा उत्रिएपछि पाँच दिनदेखि निर्माण कार्य ठप्प छ । चिनियाँ ठेकेदार कम्पनीबाट १० करोड भन्दा बढी रकम अहिलेसम्मको बिलमा पाउनुपर्ने सप्लायर्स कार्यालयले जनाएको छ ।

यो कम्पनीको सञ्चालकमा निर्भिक सहित नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका उपाध्यक्ष राजु गुरुङ, पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पा निकट फुर्वा शेर्पा, शक्ति डङ्गोल, रञ्जित राई लगायत ७ जना संलग्न छन्। निर्माण कार्यमा खटिएका करिब २ सय कर्मचारीहरुले चार महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् ।

७१ सालमा विमानस्थलको निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएको थियो । सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने गरी सुरु गरिएको विमानस्थल निर्माण कार्य गत वर्षको भूकम्प र मधेस आन्दोलनको अवरोधले सन् २०१८ को जुनसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर विमानस्थलमा बढेको बेथितीको कारण सन् २०२० सम्म पनि विमानस्थल निर्माण कार्य सम्पन्न नहुने स्थानीयहरुले आशंका गर्दै आएका छन् ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चीनको नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा २०७१ माघ महिनादेखि अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको हो । विमानस्थलका लागि जग्गा अपुग भएको भन्दै आयोजनाले थप ५०० बिघा जमिन थप गर्ने तयारी अन्तिम चरणमा पुर्याएको थियो।

२८७ विगाहा क्षेत्रफलमा निर्माण भइरहेको विमानस्थललाई जग्गा अपुग भएपछि त्यसका लागि ४२८ बिघा नीजि र ७२ बिघा सरकारी जग्गा थपका लागि मुआव्जा वितरणको अन्तिम तयारी भइरहेको थियो। चैत महिनाभित्रै मुआव्जाको काम सक्ने लक्ष भएपनि सप्लायर पक्षको अवरोधका कारण प्रभावित भएको छ।

16.42¡ÆC