भारतीय सीमा सुरक्षा बल नेपाल पसेर नेपालीहरू माथि गोली हान्दा सरकार चुइक्क बोलेको छैन : केपी ओली

फाल्गुन २९, २०७३ मा प्रकाशित | 1209 views

भैरहवा, २९ फागुन । एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई देशका जनता संग कुनै मतलब नरहेको आरोप लगाएका छन् । मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आईतबार भैरहवामा आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘जनता संग यो सरकारलाई कुनै मतलब छैन । अन्तैका प्रभु रिझाउन व्यस्त छ । देशभक्त र विकासप्रेमी सरकार हटाएर बनेको यो सरकारले मुलुकका लागि कुनै काम गरेको छैन ।’ अध्यक्ष ओलीले मधेसका नाममा राजनीति गर्न चाहनेहरू त्यहाका जनतालाई मराउन चाहेको बताए । । त्यसरी मारिनेहरू हाम्रै भाई छोराहरू हुन् भन्दै उनले तिनलाई बिना कारण मराइएको बताए । ‘भारतीय सीमा सुरक्षा बल नेपाल पसेर नेपालीहरू माथि गोली हान्दा सरकार चुइक्क बोलेको छैन, थर्कमान छ । नेपाल भित्र आएर नेपाली माथि गोली हानियो’, ओलीले भने, ‘यता आफ्ना प्रहरी माथि आक्रमण गर्नेहरू माथि कारवाही गर्दा प्रहरी अधिकारीहरु माथि नै कारवाही गरियो ।’ उनले काम गर्ने हिम्मत छैन भने सरकारमा किन बस्ने भनेर प्रश्न समेत गरेका छन् । ‘यस देशलाई नोक्सान गर्न जडान गरिएको सरकारले देशको हित गर्न सक्दैन । जनताको यो उपस्थितिले देखाउाछ, सरकार हामी चलाउछौ ।’ ‘यो सरकार नेपाल र नेपालीको होइन । विधिवत् रुपमा त संसदबाट बनाए जस्तो देखिन्छ । तर, चारतिर फर्केकाहरुलाई एउटै ठाउामा ल्याएर टाउको जुधाएर मित लगाउने काम अर्कैले गरिदिएको छ’, उनले भने । ओलीले मोर्चाका नेताहरू एमालेलाई तराई पस्न नदिने भनेकोमा पनि आक्रोशित भएका छन् । उनले भने, ‘नयाँ शक्ति नामक भ्रष्ट बुद्धिजीवीहरूको संस्थाले पनि एमालेमुक्त नेपाल भनेर ट्वीट गरेछ । कसको दाना खाएर उनीहरू यस्तो गर्दैछन् ? नेपाल देशव्यापी छ, नेपाली व्यापी छ । हामीलाई कुनै ठाउमा जानबाट कसैले रोक्न सक्दैन ।’ सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकारले मुलुकलाई विभाजन तर्फ लैजान खोजे पनि त्यो कुनै हातमा पूरा नहुने बताए । उनले भने, ‘अहिले संविधान असफल पार्न खोजिएको छ । समयमा संविधान कार्यान्वयन हुन नदिने योजना छ । ठीकै छ, त्यो सफल पनि होला । तर, यो देश असफल हुन सक्दैन, हुन दिइदैन । संविधानको इतिहास साढे छ दशकको छ तर यो देशको इतिहास चार हजार वर्षको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web