नेपाल-इण्डिया सीमा लडाइँका पहिला शहीद गोविन्द गौतम
– स्वागत नेपाल
नेपाल सरकारले नेपाल र इण्डिया अब छिमेकी मित्रराष्ट्र होइन सँधियार शत्रुराष्ट्र हुन् भन्ने औपचारिक रुपमा नै घोषणा हुने निर्णय गरेको छ । र, अब नेपाल—इण्डिया शत्रुराष्ट्रको रुपमा अन्तराष्ट्रिय कूटनीतिक तहमा विश्व समुदायले मान्न पनि बाध्य हुनु पर्ने भएको छ ।

नेपाल र इण्डियावीच टस्सल छ र नेपालीले इण्डियाविरुद्ध सीमा बचाउन लडिरहेका छन् भन्ने कुरालाई नेपाल सरकारको पछिल्लो निर्णयले मान्यता दिएको छ । बिग्रेको घडीले पनि २४ घण्टामा २ पटक चाहिँ सही समय देखाएजस्तो सरकारले आफैले गरेको निर्णयले कूटनीतिक सम्बन्धमा के अर्थ रहन्छ भन्ने बुद्धि भएर होइन कि नजानीकनै सही अर्थ आउने निर्णय गरेको छ ।

युद्धको नियमले विदेशी फौजको गोलीबाट भूलवस नै भए पनि मारिएको व्यक्तिलाई शहीद घोषणा गर्नुलाई दुई देशवीचको लडाइँलाई मान्यता दिनु हो भन्ने अर्थ लाग्छ । यसले व्यक्तिलाई शहीद मात्र घोषणा गरेको मानिँदैन योद्धा हो भन्ने मान्यता पनि प्रदान गर्छ । अनि जसको विरुद्धको युद्धमा शहादत प्राप्त भयो त्यो विरोधी पक्षलाई संघर्षको नियमले दुश्मन करार गर्छ ।

अब नेपाल र इण्डिया वीचको सम्बन्ध शत्रुराष्ट्रको रुपमा कूटनीतिक रुपमै मान्यता प्राप्त भएको छ ।
कञ्चनपुरमा सीमा मिचाइको विरोधमा लडेका र इण्डियन सुरक्षा फौजको गोलीबाट मारिएका नेपाली नागरिक गोविन्द गौतमलाई नेपाल सरकारले शहीद घोषणा गरिसकेको र १० लाख रुपियाँ उपलब्ध गराउने समेत निर्णय गरेको जानकारी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले सञ्चारमाध्यमलाई बताइ सकेपछि अब नेपाल इण्डियन वीचको सम्बन्ध शत्रुराष्ट्रको नै भएको छ ।

यसले नेपालले यसअघि नै विज्ञप्ती समेत प्रकाशित गरी इण्डियन सुरक्षा फौजको गोलीबाट नेपाली नागरिकको हत्या हुनु निन्दनीय भनिसकेको छ । तर इण्डियन पक्षले त्यसमा प्रतिक्रिया नजनाई उल्टो गौतमको पोष्ट मार्टम रिपोर्ट मागिरहेको छ । र, शहीद घोषणा गरिएकोमा पनि कुनै प्रतिक्रिया भने जनाएको छैन । यसको अर्थ उसले शहीद घोषणाको युद्धार्थलाई बुझेर मौनता साँधिरहेको छ ।

यस अघि नेपालविरुद्ध इण्डियाले गरेको नाकाबन्दीका बेला मधेसी दलका कार्यकर्तासँग मिलेर नेपाली सुरक्षा फौजमाथि ढुंगामुढा गर्ने इण्डियन नागरिकहरुलाई नेपाली सुरक्षाकर्मीले आत्मरक्षाका लागि प्रहार गरेको गोली लागि मृत्यु हुँदा इण्डियाका मोदीले फोन गरेर जानकारी मागे पनि उनीहरुले शहीद घोषणा भने गरेका थिएनन् ।

त्यसबाट उनीहरु नेपाल विरुद्ध कुनै पीडाका मुक्ति पाउन लडिरहेका थिए भन्ने अर्थ लाग्न सक्थ्यो । शहीद घोषणा गर्नुृ भनेको एउटा र अर्को पक्षवीच युद्ध, संघर्ष, द्वन्द्व छ र त्यस विरोधी पक्षका विरुद्ध अझ लड्नु छ, लड्न अभिप्रेरित हुनु छ भन्ने नै हो । र, यो घोषणाले एउटा राम्रो काम नेपाल सरकारका सारथीहरुले नजानी नजानी पनि एन्टी इण्डियन सेन्मिेन्टलाई मत्थर गराउन मात्र भए पनि काम गर्न खोजेर होला तर दीर्घकालीन अर्थ नेपाल इण्डिया सम्बन्धका वीचमा छोडेका छन् ।

यसअघि इण्डिया जोडिएको सीमाका लागि शहादत प्राप्त गर्ने वीर शहीद विभूतिहरुले इण्डिया विरुद्ध होइन, इष्टइण्डिया कम्पनी विरुद्ध वा बेलायत विरुद्ध लडेर शहीद भएका थिए । तर, नेपाल इण्डिया वीच सीमा लडाइँका पहिला शहीद भए गोविन्द गौतम ।

उनी गणतन्त्र, संघीयता, बहुदलीय व्यवस्था समेतका लागि र राणा शासन विरुद्ध लडेका शहीदजस्ता मात्र पनि होइनन्, अनि त्यसपछि हावाकाभरमा १० लाखका लागि मात्र घोषणा गरिएका शहीदजस्ता त झन् हुँदै होइननन्, जेसुकै होस् उनी नेपाल-इण्डिया सीमा लडाइँका पहिला शहीद नै हुन् ।

त्यो बाहेक उनलाई शहीद घोषणाको अर्को कुनै निहँु दिन पाइँदैन, हुँदा पनि होइन । नेपालको हालको सरकारलाई यो शृंखलाको शुरुवातका लागि बधाई र धन्यबाद छ । इण्डिया अब नेपालको छिमेकी मित्र राष्ट्र रहेन सँधियार सत्रु राष्ट्र भयो । शहीद गोविन्द गौतमप्रति हार्दिक श्रद्धाञ्जली ।

अधिवक्ता समेत रहनुभएका लेखक स्वागत नेपालको यो लेख उहाँको स्वागतनेपालडटकमबाट साभार गरिएको हो ।

21.12¡ÆC